म्यान्मा सैनिक हवाई हमलामा १ सय ३३ जना मारिए
एजेन्सी, ३० चैत्र । म्यान्माको सेनाले मण्डले नजिकको मध्य सागिङ क्षेत्रकाे कानबालु गाउँमा मंगलबार गरेको हवाई हमलामा महिला र बालबालिकासहित १३३ जनाको मृत्यु भएको छ ।
आक्रमणमा २० जना बालबालिकाले ज्यान गुमाएकाे तथा ५० भन्दा बढी घााइते भएकाे अपदस्थ राष्ट्रिय एकता सरकारका मानवअधिकारमन्त्री आङ म्यो मिनलाई उद्धृत गर्दै न्युज नेटवर्क सिएनएनले जनाएको छ ।
दुई वर्षअघि सैन्य शक्तिबाट देशको शासन सत्ता कब्जा गरेको सेनाले पहिलोपटक घातक एवं भीषण आक्रमण गरेको हो ।
अहिले आक्रमणस्थलको आकाश वरपर सैनिक विमान उडिरहेका भए पनि हमला भने गरिएको छैन तर चिकित्सकलाई उक्त स्थलमा जान दिइएको छैन ।
संयुक्त राष्ट्रसङ्घका मानवाधिकार उच्चायुक्त भोल्कर टर्कले कैयौं स्कुले बालबालिकाले ज्यान गुमाएको बताउँदै दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन आह्वान गर्नुभएको छ ।
सैनिक सरकारको विरोधमा उत्रिएकाहरूसँग हातहतियारसमेत भएकाले उनीहरूका साथै नागरिकलाई पनि लक्ष्य गरेर सेनाले हवाई आक्रमणको रणनीतिलाई व्यापक बनाएको थियो । आन्दोलन दबाउन सेनाले अन्धाधुन्ध आक्रमण गर्दै आएको छ ।
सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएको तत्कालीन बर्माको सैनिकले सोही समयदेखि क्षेत्रीय नियन्त्रणका लागि सशस्त्र जातीय समूहविरुद्ध कारबाही जारी राखेको छ ।
