डेटा र सूचना बेच्ने पुँजीवादसँग प्रतिष्पर्धा गर्ने कम्युनिष्ट दृष्टिकोण अबको आवश्यकताः सुरेन्द्र पाण्डे (अन्तर्वार्ता)

नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको वैशाख ९ गते ७४ वर्ष पूरा हुँदैछ । निरंकुश जहाँनिया राणा शासन बिरुद्धको प्रजातान्त्रिक जनआन्दोलनका क्रममा २००६ साल वैशाख ९ गतेका दिन भारतको कलकत्तामा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ हुनुहुन्थ्यो । अन्य संस्थापकहरुमा नारायणविलास जोशी, निरन्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य र मोतिदेवी श्रेष्ठ हुनुहुन्थ्यो । ‘नागरिक स्वतन्त्रता सम्पूर्ण वर्गलाई आवश्यकता अतः क्रान्तिकारी नागरिक स्वतन्त्रता समिति बनाऊ’ भन्ने पहिलो पर्चाको माध्ययमबाट ‘पूर्ण नागरिक स्वतन्त्रताको लडाइँ जिन्दावाद’ भन्ने उद्घोषका साथ स्थापना भएको कम्युनिष्ट पार्टीले यो ७४ वर्षको इतिहासमा थुप्रै अध्याँरा र उज्याला पाटोलाई सामना गर्दै यहाँसम्म आइपुगेको छ ।
नेपाल कम्युनिष्ट पार्टी सामन्तवाद, दलाल–नोकरशाही पूँजीवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता र राष्ट्रलाई मुक्त गर्ने उद्देश्यका साथ स्थापना भएको थियो । २०१५ सालको पहिलो आम निर्वाचनमा चार सिट जितेको कम्युनिष्ट पार्टीसँग टुट, फुट र विभाजनका लामो श्रृंखला छन् । पुष्पलाल र मनमोहन अधिकारीहरुको समूह मिलेर २०४७ पछि नेकपा (एमाले) बनेको थियो ।
२०४६ सालको जनआन्दोल अर्थात् २०४७ पछि बनेको नेकपा (एमाले) संसदमा ६९ सिटसहित सशक्त प्रतिपक्ष बनेको थियो । २०५१ सालमा आम निर्वाचनमा एमालेले ८८ सिटसहित पहिलो पार्टी बनेर दक्षिण एशियामै पहिलो कम्युनिष्ट एकल सरकार गठन गर्ने अवसर प्राप्त गरेको थियो ।
टुट, फुट र विभाजनको इतिहास हेर्ने हो भने २०५४ सालमा एमाले विभाजित भएको थियो । जसका कारण २०५६ सालको आमनिर्वाचनमा ७० सिटसहित एमाले दोस्रो दल बन्यो । २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा शसस्त्रयुद्धबाट बाहिर आएको नेकपा माओवादी सबै भन्दा ठूलो दल बन्दा एमाले तेस्रो दलको हैसियतमा खुम्चियो । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमाले दोस्रो स्थानमा रह्यो । २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन बनाएर दुई कम्युनिष्ट पार्टी एमाले र माओवादी चुनावी मैदानमा गए । उनीहरु करीब दुई तिहाइ बहुमत सिट जित्न सफल भए ।
नेपाल कम्युनिष्ट पार्टी स्थापनाको इतिहासलाई पल्टाएर हर्ने हो भने त्यो नै ७४ वर्षको इतिहासको सबैभन्दा ठूलो सफलता हो । २०७९ मंसिर १० मा भएको निर्वाचनमा एमाले जनमतको हिसावमा पहिलो भए पनि गणितको हिसावमा दोस्रो दल बन्यो । अहिले कम्युनिष्टहरु विभिन्न चिरामा विभाजित छन् । यस्तो अवस्थामा पनि एमाले भने शक्तिशाली कम्युनिष्ट पार्टीको हैसियतमा छ । एमालेले स्थापना दिवसका अवसरमा मुख्यालय च्यासलमा वैशाख ९ गते कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउँदै छ । कम्युनिष्ट पार्टीको इतिहास, स्थापना दिवसलगायतका विषयमा केन्द्रित भएर एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेसँग मैत्रिन्युजका लागि मोहन बास्तोलाले गरेको कुराकानीः
नेकपा (एमाले)ले कम्युनिष्ट पार्टीको स्थापना दिवस कसरी मनाउँदै छ ?
नेपाल कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवस हामी विशेष कार्यक्रमसहित मनाउने योजनामा छौँ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना २००६ साल वैशाख ९ गते भएको हो । नेपाल कम्युनिष्ट पार्टी स्थापना हुँदा भर्खरै दोस्रो विश्वयुद्ध समाप्त भएको थियो । त्यतिबेला विश्व नै क्रान्तिकारी परिवर्तनको अवस्थाबाट गुज्रिरहेको थियो भने राजनीतिक परिवर्तनका मुद्धाहरु अघि बढिरहेका थिए । विश्वका धेरै देशहरुबाट राजतन्त्र ढलिरहेको थियो । अरुअरु शासन व्यवस्थाहरु पनि ढलिरहेका थिए । त्यसको केही वर्ष अघि मात्रै चिनियाँ क्रान्ति सफल भएको थियो । रसियन क्रान्ति पनि त्यसको केही समय अघि मात्रै सम्पन्न भएको थियो । भारत भर्खरै बेलायती उपनिवेशबाट मुक्त भएको थियो । यी सबै कारणले विश्वमा नै एक प्रकारले भन्ने हो भने विशेष खालको परिस्थिति सिर्जना गरेको थियो । त्यहि बेला नेपालका नौजवानहरुले निरंकुश जहाँनिया राणा शासन बिरुद्धको आन्दोलनमा संगठित भएर नेपाललाई लोकतान्त्रिक आन्दोलनमार्फत प्रगतिशील दिशाको परिवर्तन खोजिरहेका थिए । त्यो परिवर्तनको सिलसिलामा लेनिनको जन्मदिन पारेर भारतको कोलकातामा पुष्पलालको नेतृत्वमा पाँच जना भएर नेपाल कम्युनिष्ट पार्टीको गठन भएको हो ।
त्यस्तो दर्विलो इतिहास बोकेको कम्युनिष्ट आन्दोलनको वर्तमान अवस्थाबारे के भन्नुहुन्छ ?
अहिले नेपालको कम्युनिष्ट आन्दोलनले एउटा उचाई प्राप्त गरेको छ । यो ७४ वर्षको इतिहासलाई फर्किएर हेर्ने हो भने कम्युनिष्ट पार्टीले धेरै पटक सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेको छ । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि पनि केन्द्रसँगै प्रदेश र स्थानीय तहसम्म नेपालको कम्युनिष्ट पार्टीले प्रभाव छाड्न सफल भएको छ ।
हामीले कम्युनिष्ट स्थापनाको ७५ औं दिवस मनाउँदै गर्दा हामीलाई यो बाटो देखाउने अग्रजहरुप्रति सम्मान गर्नुपर्छ । यो अवस्थासम्म नेपालको कम्युनिष्ट आन्दोलन अघि बढ्ला भन्ने उहाँहरुको कल्पना भन्दा बाहिरको कुरा थियो । यद्यपि, त्यसैका लागि हाम्रा धेरै अग्रजहरुले प्राणको आहुती दिएका छन् । धेरै हण्डर र विपत्तिको सामना गर्नु परेको इतिहास छ । यी सबै कुरालाई ध्यानमा राखेर हाम्रो पार्टी नेकपा (एमाले)ले स्थापनाको ७५ औं दिवस मनाउँदै छ ।
वर्षमा १ दिन स्थापना दिवस मनाएर मात्रै कम्युनिष्ट पार्टीको दर्विलो इतिहासको रक्षा होला जस्तो लाग्छ ?
हामीले कम्युनिष्ट पार्टीको स्थापना दिवस एक दिन होइन वर्ष भरी नै मनाउने योजना बनाएका छौँ । स्थापनाको दिन मानेर सम्मान गर्ने एउटा तरिका भयो । हामीले यो पटक वर्ष दिन भरी नै विभिन्न कार्यक्रमसहित मनाउने भन्ने योजना बनाएका छौँ । हामीले यहि सन्दर्भमा अन्तराष्ट्रियस्तरको गोष्ठी नेपालमा गर्न सकिन्छ कि भन्ने तयारीका बारेमा पनि सोचेका छौँ । स्वदेश भित्रै पनि अलिक नयाँ प्रकारबाट आजका मुद्धा र आजको परिस्थितिसँग सम्वन्धित रहेर कम्युनिष्ट आन्दोलनलाई अझै नयाँ रुपमा कसरी अघि बढाउन सकिन्छ ? भन्ने विषयमा पनि हामी सोचिरहेका छौँ । कम्युनिष्ट आन्दोलनको भविष्यलाई अझै उज्यालो बनाउने, चुनौतीहरुसँग लड्ने लगायतका विषयमा कार्यक्रम बनाउने भन्ने साँेच पनि हामीले बनाएका छौँ ।
नेपाल कम्युनिष्ट पार्टीको ७४ वर्ष लामो इतिहासलाई केलाएर हेर्ने हो भने टुट, फुट र विभाजनका अँध्यारा पाटाहरु पनि छन् । यी पाटोलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?
मैले अघि केही उज्यालो पाटोका बारेमा चर्चा गरेँ । अध्याँरो पाटो पनि छन् । हामीले निकै ठूलाठूला सफलता पनि प्राप्त गर्यौ । निकै ठूलाठूला गल्ती पनि गरेका छौँ । बैचारिक हिसावका उपलब्धी र कमजोरी भएका छन् । नेपाली माटो सुहाँउदो माक्र्सवादी विश्लेषणको अधारमा नेपाली क्रान्ति र यसका बैचारिक पक्षलाई विकशित गर्दै आयौँ । हामीले यो अवधिमा नेपाली परिवेश र विशेषता अनुसार नयाँ वैचारिक रुप दिदैँ आयौँ । आन्दोलनका क्रममा पनि हामीले हामीलाई परिवर्तन गर्दै गणतन्त्र प्राप्त गर्ने अवस्थासम्म ल्याएका छौँ । नेपालको परिवेशमा हामीले नयाँ जनवादीक्रान्ति सफल गर्न सक्षम भएका छौँ । हामीले नेपालबाट लोकतन्त्रलाई खोस्नै नसक्ने गरी जनताको अधिकार स्थापित गर्ने अवस्थामा पुगेका छौँ । संविधानमा हामीले समाजवादउन्मुख भनेर समावेश गर्न सफल भएका छौँ । यी हाम्रा उपलब्धी हुन् ।
हामीले यहि बिचमा दुई ठूला घटनाहरुमा नोक्सानी पनि व्यहोर्न बाध्य हुनुपर्यो । अरु धेरै टुटफुटका घटना त छदैँ थिए । ०५४ को नेकपा (एमाले) विभाजन र ०७७–७८ को नेकपा फुटले नेपालको कम्युनिष्ट आन्दोलनमा निकै ठूलो क्षति पुग्यो । हामीले विगतमा धेरै अँध्यारा र उज्याला पक्षको सामना गर्दै आएका छौँ । अब हामीले अँध्यारा पक्षबाट पाठ सिक्दै पहिलाको भन्दा अझ राम्रो गर्दै भएका उपलब्धिलाई जोगाउँदै अघि बढ्नुको विकल्प छैन । यो ७५ वर्षको कम्यनिष्ट पार्टीको इतिहासका सन्दर्भमा हामीले भएका उपलब्धिलाई जोगाउने अनि हिजो भएका कमजोरीलाई सच्याएर त्यसको परिपूर्ति कसरी गर्ने भन्ने सोँचका साथ अघि बढ्नु पर्ने छ ।
कम्युनिष्ट पार्टीहरुले ७५ वर्षको इतिहास पार गरेर आउँदै गर्दा जनताले बोकेको आशा, भरोसा र विश्वास कमजोर हुँदै गएको र वैकल्पिक शक्तिप्रति बढी आकर्षित भएको अवस्था पनि छ । यसलाई कसरी लिनु भएको छ ?
तपाईँले उठाउनु भएको सन्दर्भ उचित छ । समाजवादी आन्दोलनले उपलब्धि प्राप्त गरेको छ र धक्का पनि खाएको छ । पुँजीवादी आन्दोलनले पनि उपलब्धि र धक्का दुबै खाँदै आएको छ । पछिल्लो समय पुँजीले पनि आफ्नो चरित्रलाई परिवर्तन गर्दै आएको छ । पुँजीवादी शक्तिलाई बचाउनका लागि नयाँ रुप, नयाँ तरिका, नयाँ प्रयास अघि बढाउँदै छ । जस्तै उदाहरणका लागि पछिल्लो औधोगिक क्रान्ति अर्थात् २०१६ पछिको अवस्थालाई हेर्ने हो भने डिजिटल क्रान्ति डेटा क्रान्ति हावी भएको छ । अझ भन्ने हो निगरानी पूँजिवाद हावी भएको छ । सामाजिक सञ्जाल र इन्टरनेट इकोनमीको नयाँ युगले पारेको प्रभावले संगठन, राजनीति र संघर्षका क्षेत्रमा पनि नयाँ रुप प्रकट हुने अवस्था सिर्जना भएको छ ।
पुँजीवादले नयाँ स्वरुप परिवर्तन गरेको नदेख्ने अनि पुँजीवादको उहि पुरानो चरित्र छ भनेर व्याख्या मात्रै गर्ने हो भने कम्युनिष्ट आन्दोलन फेरि धक्कामा जानसक् । योतर्फ कम्युनिष्टहरुले नयाँ ढंगले सोच्नुपर्ने अवस्था छ । दोस्रो विश्वयुद्धपछि कम्युनिष्टहरु पुरानै सोँचमा बसिरहे । त्यतिबेला लेनिनले ‘साम्रराज्य–सामराज्यवादीबिचको लडाईँ अनिवार्य छ । त्यो लडाईँले क्रान्ति अनिवार्य हुन्छ’ भन्ने व्याख्या गरे । संसार भरीका कम्युनिष्टहरु अहिलेसम्म पनि त्यहि व्याख्या पढाएर बसे । जबकी साम्रराज्यवादीहरुले लडाईँ होइन एकता गर्दै आए । उनीहरु मिलेर शासन गर्न थाले उनीहरुले ग्लोवल संस्था सिर्जना गरे । उनीहरुले ग्लोवल नीतिहरु सिर्जना गरे । उनीहरुले साझा रुपमा शोषण गर्ने नयाँ तरिका अवलम्बन गरे । एकल देशको एकल कोलनी बनाउने ढाँचा उनीहरुले बदले ।
तर, कम्युनिष्टहरु त्यहि पुरानै ढाँचामा गुज्रिरहे । कम्युनिष्टहरुले शोषण गर्ने तरिकामा आएको परिवर्तनलाई समेत नदेखेको हुनाले कयौँ देशका कम्युनिष्ट आन्दोलनले धक्का खायो । अहिले अझ नयाँ रुपमा पुँजीवादले आफूँलाई विकास गर्दैछ । हामी पुराना कुरा गरेर बसेको छौँ । पुँजीवादले नयाँ फड्को मारिसकेको छ । पहिला–पहिलाको पूर्वाधार भनेको बाटो बनाउनेलगायत थियो । अहिले डेटा र सूचना बेच्ने पुँजीवादको युग हो । अब कम्युनिष्टहरुले पनि यहि अनुसारको सोँच र दृष्टिकोण बनाउन आवश्यक छ । यसमा भएको भएको शोषण, अत्याचार, समाजविरोधी नकरात्मक पक्ष के–छ ? यसले कसरी जनतालाई प्रभावित गरिहेको छ ? यो बारेमा सोच्न जरुरी छ । यो कुरामा कम्युनिष्टहरु पछाडि छन् । यसबारेमा दृष्टि तयार पारेर अघि बढ्न आवश्यक छ । नभए कम्युनिष्ट आन्दोलनले फेरि धक्का नखाला भन्न सकिन्न ।