फ्लाइ दुबईलाई पर्यटन मन्त्रीको जवाफः ‘सहरमा हवाईजहाजको गोठालो गर्दैछु, नकरात्मक हल्लाको पछि नकुदौँ’
काठमाडौं, १२ वैशाख । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किँरातीले त्रिभुवन विमानस्थलबाट उडेको फ्लाइ दुबईको जहाज चरा ठोकिएको हल्ला अहिलेसम्म प्रमाणित नभएको बताउनु भएको छ । उहाँले सामाजिक सञ्जालमा एक सन्देश लैख्दै यस्तो बताउनु भएको हो ।
‘त्रिभुवन विमानस्थलबाट उडेको फ्लाइ दुबईको जहाज चरा ठोकिएको हल्ला अहिलेसम्म प्रमाणित नभएको कुरा पनि सबैमा स्पष्ट गर्दछु,’ उहाँले भन्नुभएको छ, ‘गाउँमा गाई भैंसी गोठालो गरेर आएको मान्छे हुँ । आज सहरमा हवाईजहाजको गोठालो गर्दैछु। गाई भैंसी भन्दा हवाईजहाजको गोठालो गर्न धेरै कठिन रहेछ। आज राति मैले राम्ररी थाहा पाएँ । र जहाँसम्म जहाजमा चरा ठोकिएको हल्ला अहिले सम्म प्रमाणित नभएको कुरा पनि सबैमा स्पष्ट गर्दछु । कृपया मेरो सबैमा बिन्ती छ नकरात्मक हल्ला गर्ने बानी हामी सबैले छोडौं ।कागले कान लग्यो भनेर कागलाई खेद्नु भन्दा पहिला आफ्नो कान छाम्नुपर्छ नत्र लडिन्छ । मेरो आमाले भन्नु हुन्थ्यो ।’
हिजो राती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट १ सय ६८ यात्रु बोकेर सोमबार राति फ्लाईदुबईको जहाज कोटेश्वरतर्फबाट उड्दै गर्दा कोटेश्वरको आकाशमा विस्फोटको आवाजसँगै इन्जिनमा आगोको लप्का देखिएको थियो । फ्लाई दुबईले भने दुबईबाट ‘चरासँग जहाज ठोकिएको’ जनाएको थियो । दुबई सरकारको मिडिया कार्यालयले जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग छाड्नेबित्तिकै चरा ठोक्किएको दाबी गरेको थियो ।
नेपाल उड्डयन प्राधिकरणले फ्लाईदुबईको जहाजको इन्जिनमा भएको आगलागीको घटनामा चरा ठोक्किएको भ्रमणूर्ण सूचना फैलाएको भन्दै फ्लाईदुबईका नेपाल प्रमुख र स्टेशन म्यानेजरको पास तत्कालका लागि रोक्का स्रोतले जानकारी दिएको छ ।