बेलायतको राजसंस्था कति लोकप्रिय, कति आलोचित ?
काठमाडौं, १९ वैशाख । यही आउँदो शनिवार मई ६ तारिखका दिन बेलायतका राजा चाल्र्स तृतियको शुभराज्याभिषेक हुँदैछ । राज्याभिषेक नजिकै आउँदा राजा चाल्र्स, उनकी महारानी, उनको परिवार र समग्रमा बेलायती राजसंस्थाकै विषयमा विभिन्न खालका विवाद, तर्क र अनुमान अड्कलहरू हुन थालेका छन् ।
यसै क्रममा बेलायतभरि गरिएको एउटा सर्वेक्षणले बेलायतमा राज परिवारको लोकप्रियता तुलनात्मक रुपमा केही घटेको भए पनि राजतन्त्र नै आवश्यक छैन भन्ने धारणाले भने अझै मूर्त रुप लिन नसकेको देखाएको छ ।
बेलायती महारानी एलिजावेथ द्वितियाको निधनपछि बेलायती राजसंस्थाको लोकप्रियता नाप्न गरिएको यो सबैभन्दा ठूलो सर्वेक्षण हो । यसमा सहभागी बेलायतीहरू मध्ये दुई तिहाइले यदि भोलि नै जनमत संग्रह भयो भने आफूले राजतन्त्रको पक्षमा मत दिने बताएका थिए । तथापि बेलायतका लागि राजसंस्था आवश्यक छ भनी मत दिनेहरू मध्ये पनि ७३ प्रतिशतले यदि राजसंस्थाको आयु लम्ब्याउने हो भने राजाले केही आधुनिक सुधारहरू गर्नैपर्ने धारणा राखेका छन् ।
सर्वेक्षणमा सहभागी ६५ प्रतिशतले राजसंस्था बेलायतको सम्पत्ति हो भन्ने विचार राखेका छन् । इंगल्याण्ड, स्कटल्याण्ड र वेल्सले राजतन्त्रको पक्षमा मत हाले पनि उत्तरी आयरल्याण्डमा भने राजतन्त्र पक्षधरको संख्या ४६ प्रतिशतबाट घटेर ४२ प्रतिशतमा पुगेको छ ।
बेलायतको नयाँ पुस्ता भने राजतन्त्र हटाउनुपर्छ भन्ने पक्षमा बलियो बन्दै गइरहेको छ । सर्वेक्षणमा सहभागी १८–३४ वर्ष उमेर समूहका युवाहरूले गणतन्त्रको वकालत गरेका छन् । राजतन्त्र पक्षधर अधिकांश नागरिकहरू ६५ माथिका छन् ।
त्यस्तै जातीय रुपमा पनि एशियाली, अफ्रिकी र क्यारिबियन मूलका नागरिकहरू बेलायतको राजतन्त्र केही मानिसका लागि मात्र हो भन्ने ठान्छन् भने गोराहरू सम्पूर्ण नागरिककै लागि राजतन्त्र हुन् भन्ने विचार राख्छन् ।
राजा चाल्र्सका कान्छा छोरा ह्यारीले आफ्नो विवादास्पद पुस्तक ‘स्पेयर’ मा राजदरवारबारे गरिएका टिप्पणीलाई पनि ४६ प्रतिशत बेलायतीहरूले विश्वास नगरेको पाइएको छ । त्यस्तै ६७ प्रतिशत नागरिकले बेलायती राजसंस्थाले राज्यबाट प्राप्त गर्ने आफ्नो खर्च घटाउँदै लानुपर्ने सुझाव पनि दिएका छन् ।
राजसंस्थाप्रति जनताको मत सकारात्मक भए पनि राजा चाल्र्सप्रतिको लोकप्रियता भने घट्दो छ । दिवंगत महारानी एलिजावेथलाई मन पराउने बेलायतीको संख्या ७६ प्रतिशत रहेको थियो भने चाल्र्सलाई मन पराउनेहरुको संख्या ५४ प्रतिशत मात्र रहेको छ ।
स्वयम् ६९ प्रतिशत गणतन्त्रवादीहरू समेत एलिजावेथसम्म त ठीकै हो, चाल्र्स चाहिँ हटाउनै पर्छ भन्ने गर्छन् । ती गणतन्त्रवादीहरू पनि अहिले त राजतन्त्रमाथि कुनै खतरा छैन तर आउँदो ५० वर्षमा बेलायतबाट राजतन्त्र हटिसक्ने दावी गरिरहेका छन् ।
शनिवार हुन लागिएको शुभराज्याभिषेक कार्यक्रम पनि अनेक विवादहरुले घेरिएका छन् । राजा चाल्र्सले यो कार्यक्रममा आफ्ना कान्छो छोरा ह्यारीकी श्रीमती मेगमलाई बोलाएका छैनन् । यसमा ह्यारी एक्लै मात्र सहभागी हुनेछन् । जब कि जेठो छोरा विलियम्सकी श्रीमतीको चाहिँ माइतीलाई समेत चुल्है निमन्त्रण गरिएको छ ।
राजा चाल्र्सको शुभराज्याभिषेकमा विश्वभरिबाट जम्मा २२०० पाहुना सहभागी हुनेछन् । सन् १९५३ मा उनकी आमा एलिजावेथ द्वितीयाको शुभ राज्यभिषेक हुँदा ८२०० भन्दा बढी पाहुना बोलाइएको थियो ।
