राजा चार्ल्स तृतीयले पहिरिए राजमुकुट

एजेन्सी, २३ वैशाख । बेलायतमा राजा चार्ल्स तृतीयले एक विशेष समारोहबीच राजमुकुट पहिरिएका छन् ।

वेस्टमिन्स्टर एबीमा आयोजित समारोहमा आर्चविशपले सेन्ट एड्वर्ड्ज् क्राउन राजाको शिरमा पहिर्‍याइ दिएका हुन् ।

यसअघि सो समारोहमा चार्ल्स तृतीयले राजाका दायित्व पूरा गर्ने शपथ लिएका थिए ।

यो राजमुकुट पहिरिने राजा चार्ल्स तृतीय सातौँ शासक हुन् । उक्त राजमुकुट पछिल्लो पटक सन् १९५३ मा महारानी एलिजाबेथले उनको राज्याभिषेकमा पहिरिएकी थिइन् ।

यसअघि चार्ल्स द्वितीय, जेम्स द्वितीय, विलियम तृतीय, जोर्ज पञ्चम, जोर्ज छैटौँ, अनि एलिजाबेथ द्वितीयाले यो मुकुट पहिरिएका थिए ।

पत्नी क्वीन कन्सोर्ट कमिलाका साथ उनी बकिङ्घम दरबारबाट उक्त समारोहका लागि निस्कंदा सेन्ट्रल लन्डनका सडकमा मानिसहरूको भीडले स्वागत गरेको थियो ।

सो विशेष समारोहमा ९० मुलुकका राष्ट्राध्यक्षहरुसहित विश्वभरबाट झन्डै दुई हजार विशिष्ट पाहुनाहरु सहभागी थिए ।

युवराज चार्ल्सले सन् २००५ मा क्यामिला पार्करसँग विधिवत् विवाह गरे । अब उनलाई राजा चार्ल्स तृतीय भनिने छ । बेलायतमा गएको ९०० वर्षदेखि वेस्टमिन्स्टर आबीमा राजाहरुको राज्याभिषेक हुने गरेको छ । उक्त गिर्जाघरमा राज्याभिषेक हुने चार्ल्स ४० औं राजा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *