टेक्सासको मलमा गोली चल्दा बन्दुकधारीसहित ९ जनाको मृत्यु, ७ घाइते

एजेन्सी, २४ वैशाख । अमेरिकाको डलास नजिकैको एउटा आउटलेट मलमा भएको गोलीकाण्डमा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।

न्युयोर्क टाइम्सले शनिबार राति अधिकारीहरूलाई उद्धृत गर्दै सो घटनाबारे जानकारी दिएको छ ।

एलेन, टेक्सासका प्रहरी प्रमुख ब्रायन ई हार्वेले शनिबार राति पत्रकार सम्मेलनमा बताएअनुसार बन्दुकधारीको अझै पहिचान हुन सकेको छैन ।

गोली चलेको समयमा मलमा अर्कोतिर रहेका एकजना प्रहरी अधिकारीले बन्दुकको आवाज सुनेपछि त्यसतर्फ दौडिएको र आक्रमणकारीलाई गोली हानेको बताएका छन् । न्युयोर्क टाइम्सका अनुसार दिउँसो ३.३० बजे (स्थानीय समय) अनुसार, डलासबाट २५ माईल उत्तरमा रहेको १२० भन्दा बढी खुद्रा विक्रेता भएको बाहिरी किनमेल केन्द्र, एलेन प्रिमियम आउटलेटमा गोली हानाहान भएको हो ।

यता सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले कालो लुगा लगाएको, लामो राइफल बोकेको आक्रमणकारीलाई भुइँमा लडिरहेको तस्बीर सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।
घटनास्थलबाट खिचिएको भिडियोमा सयौं उपभोक्ता सो क्षेत्र छाडेर दौडेको देखिएको छ । हवाई फुटेजमा कम्तिमा तीनवटा शव मल बाहिर छोपेर राखिएको देखाइएको छ।

एलेन, टेक्सासका फायर चीफ जोनाथन बॉयडले नौ जना घाइतेलाई अस्पताल लगिएको बताएका छन्। “अस्पताल पुर्याइएका घाइते मध्ये, दुई जनाको मृत्यु भइसकेको छ। तीन जनाको गम्भीर प्रकृतिको शल्यक्रिया भइरहेको र चारजनाको स्वास्थ्य स्थिर रहेको छ,” बोइडले बताएका छन् ।

यस आक्रमणलाई टेक्सासका गभर्नर ग्रेग एबोटले “अवर्णनीय त्रासदी” भनेका छन्।
शनिबारको घटना मोन्टेरी पार्क क्यालिफोर्नियामा भएको नरसंहारपछि वर्षको दोस्रो सबैभन्दा घातक गोलीबारी हो जसमा एकजना बन्दुकधारीले गत २१ जनवरीमा बलरूममा ११ जनाको हत्या गरेको थियो।