सांसद उपस्थिति न्युन भएपछि ईहाजिरी सुरू गर्ने तयारी साथै उपस्थिति वेबसाइटमार्फत सार्वजनिक गर्ने

काठमाडौं, २४ वैशाख । प्रतिनिधिसभा बैठकमा सांसदहरूको उपस्थिति न्युन भएपछि कार्यव्यवस्था परामर्श समितिको बैठकमा डिजिटल उपस्थिति (ईहाजिरी) सुरू गर्नेबारे छलफल भएको छ ।

बैठकमा ईहाजिरी सुरू गर्ने र सभाका सदस्यहरूको उपस्थिति वेबसाइटमार्फत सार्वजनिक गर्नेबारे छलफल भएको हो ।

सभामुख देवराज घिमिरेले बैठकमा दल तथा सांसदहरूलाई बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि ध्यानाकर्षण गराउनुभएकाे छ ।

सभामुख घिमिरेले भन्नुभयाे, ‘संसदमा माननीयहरूको उपस्थिति कमजोर भएको छ । सांसद तलब भत्ता खानमात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ छ । दल तथा माननीयज्यूहरूलाई बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि ध्यानाकर्षण गराउँदछु । संसद सचिवालयलाई ईहाजिरीको तयारी गर्न, राष्ट्रिय सभाको अनुभवबारे अध्ययन गर्न निर्देश गर्दछु ।’