नेपाली नागरिक हुँदाहुँदै भुटानी शरणार्थी बन्न खोज्नुचाँहि अपराध होइन ?
काठमाडौं, २५ वैशाख । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगीधन्दा चलाउने गिरोह पक्राउ परेसँगै अहिले यो विषय निकै चर्चित बनेको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणकी पत्नीहरूले पनि पैसा बुझेको दाबी गरिएको अडियो सार्वजनिक भएपछि त्यसले थप चर्चा पाएको छ । त्यसो त खाँणको रोजाइका तत्कालीन गृह सचिव टेकनारायण पाण्डे सबुतसहित पक्राउ परिसकेका छन् ।
अहिले यो विषय यति धेरै चर्चित बनेको छ कि हाल संसदको चालू अधिवेशनमा सत्तापक्ष, प्रतिपक्ष र स्वतन्त्र सांसदहरुले समेत यही विषयमा केन्द्रित भएर आफ्ना धारणाहरु राखिरहेका छन् । अहिले संसदमा, सडकमा र चोकको चिया पसलमा समेत करोडौं ठगी गर्ने गिरोह, सरकारले गरिरहेको अनुसन्धान र यही विषयसँग सम्बन्धित राजनीतिक दाउपेचका विषयमा चर्चा हुने गरेको देखिन्छ ।
तर यो प्रसङ्गमा सबैभन्दा बढी चर्चा भने नकली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छौँ भनी ठगी गर्ने राजनीतिक नेता र उनीहरूका मतियारका बारेमा भइरहेको पाइन्छ । नकली भुटानी शरणार्थी बनेर गैर कानुनी रुपमा अमेरिका पस्ने प्रयास गरेका व्यक्तिहरूका बारेमा भने कसैले पनि ध्यान दिएको पाइँदैन ।
नेपाली नागरिकलाई नकली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनु गैर कानुनी हो भने नेपालमा हुँदाहुँदै भुटानी शरणार्थी बन्ने प्रयास गर्नु पनि गैर कानुनी नै हो । यो प्रकरणमा जति पनि पीडित भनी सार्वजनिक भएका नेपाली नागरिकहरू छन्, तिनीहरूले पनि नेपालमै बसेर भुटानी शरणार्थीको परिचयपत्र बनाउने प्रयास गरेका छन् जुन आफैमा गैरकानुनी र अपराध कर्म हो ।
त्यसैले कारवाही नै गर्ने हो भने नेपाली नागरिक हुँदाहुँदै त्यसलाई नत्यागीकन भुटानको नागरिक बन्न प्रयास गर्नेहरूलाई पनि कारवाही गर्नुपर्ने देखिन्छ । यदि यी नेपाली नागरिकहरूले भुटानी शरणार्थीको दर्जा प्राप्त गरी अमेरिका छिर्न पाएको भए त्यो पनि गैरकानुनी कार्य नै हुने थियो ।
पृथ्वीनारायण शाहले पनि आफ्नो शासनकालमा ‘घूस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भनी दिव्योपदेश दिनुभएको छ । नेपालको कानूनले पनि ‘घूस लिनु र दिनु दुवैलाई’ अपराध मान्दछ ।
अहिले आफू ठगिए भनी उजुरी हाल्नेहरु सबैजना पाए भने गैर कानुनी रुपमै भए पनि अमेरिका जान खोज्ने अपराधप्रवृत्तिकै मानिसहरू हुन् । त्यसैले उनीहरूलाई पनि कारवाहीको भागिदार बनाउनु पर्दछ भन्ने आवाज पनि सुनिन थालेको छ ।
अझ गज्जब त के छ भने पीडित भनिएकाहरू गैरकानूनी तरिकाले अमेरिका प्रवेश गरेका थिए भने यो काण्ड बाहिर आउने थिएन । उनीहरु गैरकानूनी तरिकाले अमेरिका प्रवेश गर्नु पनि अपराध हो । त्यसैलै भुटानी शरणार्थी बन्न तयार भएर अमेरिका जान खोज्ने पीडितहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउनु पर्ने आवाज पनि अहिले उठेको छ ।
केही दिन अघि नेकपा (एमाले) का सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गिरोहका सदस्यहरूले दिएको बयानकै आधारमा पक्राउ पूर्जी जारी भयो । यही आरोपमा उहाँका छोरा र रामबहादुर थापा गृहमन्त्री हुँदाताकाका सल्लाहकार इन्द्रजित राई पक्राउ परिसकेको छ । यसमा अब पूर्व गृहमन्त्री बालकृष्ण खाँण, उहाँकी धर्मपत्नी र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी धर्मपत्नीको नाम पनि जोडिन आइसकेको छ ।
बीसौं वर्ष पहिले भुटानबाट विस्थापित भई नेपाल आएका १ लाख १३ हजारभन्दा बढी शरणार्थी विभिन्न चरणमा अमेरिका, क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्डलगायत देशमा पुनर्वासमा गइसकेका छन् । विभिन्न तथ्याङ्क अनुसार ६ हजार ३ सय ६५ जनालाई उनीहरुको इच्छा अनुसार तेस्रो देश पठाउन नेपालमै कार्य सहमति दिने गरी प्रक्रिया अघि बढाउने भनेर विभिन्न सरकारका पालामा काम अघि बढाइएको देखिन्छ ।
यसैमा फाइदा उठाउँदै माथिल्लो तहसम्मै पहुँच भएका एक गिरोहले ‘छुट भएका शरणार्थी’ भन्ने नकली सूची तयार गरी जनही १० देखि ५० लाख रुपैयाँसम्म पैसा असुलेको तथ्य बाहिर आएपछि त्यसैलाई आधार मानेर अहिले अनुसन्धान अघि बढाएको देखिन्छ ।
ठगीको प्रयास गर्नेहरुका विरुद्ध अनुसन्धान गर्नु सकारात्मक हो । तर मौका पाए नेपाली नागरिक भइरहेकै अवस्थामा भुटानी नागरिक भनी शरणार्थीको परिचय बनाउनु पनि आफैमा गैरकानुनी अपराध हो । यो गैरकानुनी अपराध गर्नेहरूलाई भने ‘पीडित’ को नाममा कुनै कारवाही नगरिनु न्यायको सिद्धान्त अनुसार अमिल्दो छ ।
सामान्य पृष्ठभूमिको मान्छले पचासौँ लाख खर्च गरेर नक्कली नागरिक बन्दै विदेश जाने सपना देख्दैन ।
त्यसैले अहिले नक्कली नागरिक बनाउने गिरोह मात्रै होइन नक्कली नागरिक बन्नका लागि लाखौँ खर्च गर्ने हैसियत भएकाहरुको पनि खोजी आवश्यक देखिन्छ । आफ्नो देशको नागरिकतालाई लात हानेर आफ्नै देशमा नक्कली शरणार्थी बनेर अमेरिका जान खोज्नु आफैमा राष्ट्रघाती काम हो । यस्तो काममा सहभागी हुनेलाई पनि कानुनी दायरामा ल्याएर अनुसन्धान अघि बढाउनु पर्ने आवश्यक देखिन्छ ।
तर हालको प्रकरणमा अहिले यो पक्षलाई पूरै नजर अन्दाज गरी केवल राजनीतिक पृष्ठभूमिका व्यक्तिहरूलाई मात्रै कारवाही गर्ने प्रक्रिया अघि बढाइएको छ । यसले थप आशंकाहरु उत्पन्न हुन थालेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले त एकपछि अर्को गर्दै एमाले निकटका व्यक्तिहरु तानिएको घटनालाई तानिएको हो कि तनाइएको हो भन्नेमा समेत आशंका पैदा हुन थालेको भन्दै आलोचना गर्नुभएको छ ।
दोषीमाथि कारबाही हुनुपर्छ, दोषीलाई उम्काउने छूट कसैलाई छैन । तर, अहिले जनु ढंगले अनुसन्धानको सुई फर्काइएको छ । त्यो नेपालको राजनीतिमा देखिएको पाकिस्तानी शैलीको सुरुवात जस्तो देखिएको छ । यो निश्चय पनि असल अभ्यास भने होइन ।