जगन चापागाईं पुनः आइएफआरसीको महासचिवमा

काठमाडाैं, २८ वैशाख । नेपालका जगन चापागाईं पुनः रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा चयन हुनुभएको छ ।

उहाँ दोस्रो कार्यकालका लागि नियुक्त हुनुभएकाे हाे । उक्त पदमा पुग्ने उहाँ पहिलो नेपाली हुनुहुन्छ ।

चापागाईंले यसअघि सन् २०२० फेब्रुअरीमा चार वर्षे सो पदको पहिलो कार्यकाल सम्हाल्नुभएको थियो । स्वीट्जरल्याण्डको जेनेभामा गए राति सम्पन्न आइएफआरसीको गभर्निङ बोर्डको बैठकले पहिलो पदावधि समाप्त हुनु एक वर्ष अगाडि नै उहाँलाई दोस्रो कार्यकालका लागि पुनः चयन गर्ने निर्णय गरेको थियाे ।

सो बोर्डमा विश्वका २९ देश सहभागी रहेको बताइएको छ । चापागाईंले सन् २०२८ को जनवरीसम्म आइएफआरसीको सर्वाेच्च पदको नेतृत्व गर्नुहुनेछ ।

आइएफआरसीले आफ्नो कार्यादेशअनुसार जलवायु परिवर्तनले निम्त्याएका, प्राकृतिक तथा मानव सिर्जित विपद् न्यूनीकरण र पीडितलाई अनवरत रुपमा मानवीय सहयोग गर्दैआएको छ ।

दोस्रो कार्यकालको पदावधि थपपछि महासचिव चापागाईंले भन्नुभयो, “अइएफआरसीको गभर्निङ बोर्ड र आइएफआरसीका अध्यक्ष फ्रान्सेस्को रोक्काको विश्वास पाउँदा म सम्मानित र गौरवान्वित भएको छु । थुप्रै चुनौतीबीच समाधान खोज्न र हामीले सेवा गर्ने समुदायका बीचमा विश्वास निर्माण गर्न निष्ठाका साथ काम गर्नेछौँ ।”

तीन दशकभन्दा बढी समय मानवीय सेवामा तल्लीन चापागाईंले गत महिना नेपाल भ्रमणका क्रममा नेपाल रेडक्रस सोसाइटीलाई ३० नयाँ र १५ स्तरोन्नति गरिएका एम्बुलेन्स हस्तान्तरण गर्नुभएको थियो ।

विश्वका एक सय ९२ देशका रेडक्रस आइएफआरसीमा आबद्ध छन् । सल्फेरिनो युद्धका पीडाले छट्पटाइरहेकालाई मानवीय सेवा स्वःस्फुर्त प्रदान गर्न जँ हेनरी ड्युनाले सन् १८६३ मा रेडक्रस स्थापना गर्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *