पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री इमरान खानलाई तत्काल रिहा गर्न आदेश
काठमाडाैं, २८ वैशाख । पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानको गिरफ्तारीलाई ‘गैरकानुनी’ ठहर गर्दै उहाँलाई तत्काल रिहा गर्न निर्देशन दिएको छ ।
पूर्वप्रधानमन्त्री इमरान खान लाई पाकिस्तानका मुख्य न्यायाधीश उमर अता बन्दियालले अदालतमा उपस्थित हुन आदेश दिएको छ ।
भ्रष्टाचारसँग सम्बन्धित एक मुद्दाका लागि भन्दै उनलाई नेशनल एकाउन्टिबिलिटी ब्युरो एनएबीले इस्लामावाद उच्च अदालतपरिसरबाट पक्राउ गरेको थियो ।
पाकिस्तानका प्रमुख न्यायधीश उमर अता बन्दियालले इमरान खानको सुरक्षामा ध्यान दिँदै प्रहरीले आफ्नो गेष्ट हाउसमा राख्न सक्ने तर उनीमाथि थुनुवा वा कैदीको व्यवहार गर्न नपाउने आदेश जारी गरेका पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।
खानको गिरफ्तारीलाई चुनौती दिने पीटीआईको अपिलमाथि बहस गर्ने तीन सदस्यीय बेन्चको अध्यक्षता गर्दै प्रधान न्यायाधीशले यस्तो टिप्पणी गरेका हुन् ।
खानको गिरफ्तारीपछि पाकिस्तानमा अशान्तिको स्थिति देखिएको छ । पीटीआईले आफ्ना समर्थकलाई इमरान खानको समर्थनमा आउन आग्रह गरेसँगै देशभर विभिन्न विरोध प्रदर्शन भएका छन् । प्रदर्शनका क्रममा कम्तीमा १० जनाको मृत्यु भएको छ भने करिब दुई हजारभन्दा बढी व्यक्ति घाइते भएका छन् ।
अदालतले रिहा गर्न आदेश दिए लगत्तै इमरानले आफ्ना समर्थकलाई प्रदर्शन र तोडफोडमा नउत्रिन निर्देशन दिएका छन् । उनले आफ्ना समर्थकलाई शान्ति कायम गर्न पनि भनेका छन् ।