सडक यात्रा : सडक सुरक्षामा कार्टुनद्वारा खवरदारी

काठमाडौं, २ जेठ । सडक सुरक्षा सप्ताह (मे १५–२१, २०२३) को अवरसर पारेर काठमाडौंमा सडक यात्रा नामक कार्टुन प्रदर्शन सुरु भएको छ ।
काठमाडौंकाे बबरमहल स्थित नेपाल कला परिषदमा संयुक्त राष्ट्रसंघबाट आह्वान भएको सडक सुरक्षा सप्ताहमा सडक यात्रा कार्टुन प्रदर्शन सुरु भएको हाे ।
सडक सुरक्षामा व्यंग्यचित्र मार्फत जनचेतना जगाउने उद्धेश्यले थालिएको प्रदर्शनी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको राष्ट्रिय सडक सुरक्षा परिषद, नेपाल प्रहरी, सडक सुरक्षा समाज र कार्टूनिस्ट क्लब अफ नेपाल तथा रोटरी क्लब इन्टरनेशनलले संयुक्त रुपमा आयोजनामा गरेका हुन् ।
सडक यात्रा कार्टुन प्रदर्शनीमा नेपालका छब्बीस जना कार्टुनिस्टहरुद्वारा काेरिएका सन्देशमूलक व्यंग्यचित्रहरु समावेश छन् भने प्रदर्शनी भदौ ५ गतेसम्म जारी रहने छ ।
कार्टुनिस्टहरु अविन श्रेष्ठ, बासु क्षितिज, योगेश खपाङ्गी, रविन्द्र मानन्धर, रवि मिश्र, सानुराज डंगोल, केशवराज खनाल, दिपक गौतम, उमेशचन्द्र अधिकारी, देवेन्द्र थुम्केली, भानु भट्टराई, सुदर्शन सिग्देल, राजेश मानन्धर, रामकृष्ण थापा, सागर शाह, विश्व थापा, सुजिता महर्जन, कृष्ण गोपाल श्रेष्ठ, पल्पसा मानन्धर, महेश बस्ताकोटी, पानसिंह तोमर, रामहरु रिमाल, आशिस खनाल, अकृन अधिकारी, अनुप गुरुङ र अर्पिता शाक्यका व्यंग्यचित्रहरु समावेश छन् ।
विश्वमा सडक दूर्घटनाका कारण ज्यान गुमाउनेको संख्या प्रतिवर्ष १३ लाख ५० हजार रहेको तथ्यांक छ । नेपालको हकमा २८ सय मान्छे प्रत्येक वर्ष सडक दूर्घटनाबाट ज्यान गुमाउने गरेका छन् । त्यसकारण सडक दूर्घटना न्युनिकरणका विभिन्न उपायहरु मध्ये जनचेतना जगाउन कार्टूनको प्रयोग सशक्त माध्यम हुनसक्ने सडक सुरक्षा परिषद्का अध्यक्ष केशवकुमार शर्माको भनाइ छ ।
त्यसैगरि प्रदर्शनीका बारेमा कार्टुनिस्ट क्लब अफ नेपालका अध्यक्ष बासु क्षितिजले भने जीवन्त रंगहरु र हास्य स्पर्शका साथ हाम्रा कलाकारहरुले पैदल यात्रीहरु, साइकल चालकहरु, सवारी चालकहरु र यात्रुहरुले सामना गर्ने असंख्य चुनौतीलाई चित्रण गरेका छन् । हाम्रो कला मार्फत् हामी सडक सुरक्षाको वरिपरि चलिरहेका बहसमा योगदान दिन चाहन्छौं ।’