झापामा १०२ मिटरब्याज पीडितद्वारा उजुरी

झापा, १७ जेठ । मिटरब्याज बाट पीडित एक सय दुई जनाले जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दर्ता गराएका छन् ।

गत वैशाख १७ देखि जेठ १४ गतेसम्म दुई पटक म्याद थपेर सरकारले उजुरी दर्ताका लागि सूचना जारी गरेपछि पीडितले धमाधम निवेदन दिन थालेका हुन् ।

तीन जना विपक्षीले समेत जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराएको सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिनुभयो । निवेदन दर्ता गराउनेहरु वार्षिक ३६ प्रतिशत ब्याज तिर्ने शर्तमा जग्गा धितो पास गराउने अत्यधिक रहेका छन् ।

मिटरब्याजी साहुले लिएको ऋणभन्दा बढीको कागज बनाएको, ऋण तिरेपछि पनि अझै धेरै ऋण बाँकी रहेको भन्दै कागज देखाएर घर जग्गा आफ्नो नाममा पास गरेका, सापटी पैसा लगेर पैसा नभएका बैंकको चेक दिएकालगायत उजुरी छन् ।

जिल्लाका १५ पालिकामध्ये शिवसताक्षी र दमक नगरपालिकाबाट उजुरी बढी परेको न्यौपाने बताउनुहुन्छ । उहाँले मिटरब्याजपीडितले रु पाँच लाखदेखि रु एक करोडसम्मको कारोबारको दाबी गरिएको उजुरी परेको जानकारी दिनुभयो । कार्यालयमै मिटरब्याजपीडित सहायता कक्षमा निवेदन दर्ता गराउने गरिएको छ ।

सहायक प्रजिअ न्यौपानेले हालसम्म परेका पाँचभन्दा बढी उजुरीउपर छलफल गरी लेनदेन गर्ने व्यक्तिबीच आपसी सहमति भएको बताउनुभयो । प्रशासनले मिटरब्याजपीडितलाई अन्तिमपटक यही जेठ १४ गतेभित्र निवेदन दिइसक्न सूचना जारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *