नेपालमा तामझाम, भारतीय मिडियामा सुनसान
काठमाडौं, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज जेठ १७ गतेदेखि छिमेकी मुलुक भारतको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ । उहाँको यो भ्रमण चार दिन लामो हुनेछ ।
उहाँको भारत भ्रमण नेपालमा तामझामपूर्वक आरम्भ भइरहे पनि भारतमा भने यो भ्रमणबारे कुनै चाइँचुइँसम्मको चर्चा समेत भएको पाइँदैन । भारतका कुनै पनि ठूला सञ्चार माध्यमले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे कुनै समाचार, लेख वा टिप्पणी प्रकाशित गरेको छैन ।
भारतीय सत्ता पक्षको विचार प्रवाह गर्ने सञ्चार माध्यमका रुपमा परिचित ‘द टाइम्स अफ इण्डिया’ ले पनि प्रधानमन्त्री प्रचण्डको भ्रमणबारे कुनै समाचार बनाएको छैन । त्यस्तै अर्को चर्चित दैनिक ‘द हिन्दूस्तान टाइम्स’ मा पनि यसबारे कुनै समाचार प्रकाशित भएको छैन ।
हिन्दी दैनिक ‘नवभारत टाइम्स’ को अनलाइन संस्करणमा राजेश मिश्र लिखित एक संक्षिप्त टिप्पणी प्रकाशित भएको छ । मिश्र काठमाडौंबाट प्रकाशित हुने ‘कान्तिपुर’ दैनिकका लागि दिल्ली ब्युरो प्रमुख हुनुहुन्छ ।
भारतीय सञ्चार माध्यमहरूले खासै ‘कभरेज’ नदिएका कारण प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई भारतीय सत्तापक्षले कुनै महत्व नदिएको प्रस्ट भएको बताइएको छ ।
स्मरणीय छ, प्रधानमन्त्री प्रचण्डले आज हुने भारत भ्रमणको लागि चीन भ्रमणको लागि आएको निम्ता समेत स्थगन गर्नुभएको थियो । उहाँलाई चीनले आयोजना गर्ने बोआओ सम्मेलनमा भाग लिन निम्तो आएको थियो । तर आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै गर्नुपर्ने ‘कुटनीतिक बाध्यता’ मा पर्नुभएका दाहालले चीन भ्रमणको उक्त निम्तो ‘अस्वीकार’ गर्नुभएको थियो । भ्रमण स्थगित गर्नु पर्नाको कारण चीनले राम्ररी बुझेको भनाइ प्रम दाहालको स्पष्ट गर्नुभएको थियो ।
त्यस्तै भारत जाने दिनमै आज राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण गराउने कार्य पनि प्रधानमन्त्री प्रचण्डले गर्नुभएको थियो । उहाँको भारत भ्रमणबारे संसदमा पनि चर्चा चलिरहेको छ भने नेपाली सञ्चार माध्यममा पनि यसबारे ठूलै ‘कभरेज’ भएको छ । तर नेपालमा जतिसुकै तामझाम भए पनि भारतीय सञ्चार माध्यममा भने सुनसान भएकोले प्रम प्रचण्डको भ्रमणलाई भारतले खासै महत्व नदिएको भनी विश्लेषण गरिएको छ ।