सुडानमा १२ लाखभन्दा बढी मानिस द्वन्द्वका कारण विस्थापित
एजेन्सी, १८ जेठ । सुडानमा द्वन्द्वका कारण १२ लाखभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायताकर्मीले बताएका छन् ।
बुधबार संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले स्थलगत टोलीबाट प्राप्त प्रारम्भिक प्रतिवेदनका आधारमा आफ्नो तथ्याङ्क तयार पारेको जनाएको हाे ।
ओसीएचएले भनेको छ, “यसबीच, हामी र हाम्रा साझेदारहरूले कुनै पनि समय सबै स्थानमा सम्भावित सहयोग पुर्याइरहेका छौं । “विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) ले खार्तुम क्षेत्रमा सहयोग वितरण सुरु गरेको छ ।
डब्ल्यूएफपीले ओमदुरमानमा फसेका करिब १५ हजार मानिसहरूलाई आपतकालीन खाना उपलब्ध गराएको जनाएको छ । सुडानमा डब्लुएफपीले विगत चार हप्तामा सात लाख ८२ हजारभन्दा बढी मानिसलाई खाद्य तथा पोषण सहायता प्रदान गरेको मानवीय सहायता कार्यालयले जनाएको छ ।