बाख्रापालनमा हौसिँदै पाल्पा रामपुरका महिला
पाल्पा, १९ असार । बाख्रापालनलाई व्यवसायीकरण गर्न थालेपछि पाल्पा रामपुरका महिला बाख्रापालनमा हौसिँन थालेका छन् ।
करिब एक दशकअघि गाउँको सबैका घर–घरमा कम्तीमा पनि एक–दुईवटा बाख्रापालन गरिन्थ्यो भने गाउँ–गाउँमा स्थानीय सरकारले आयआर्जनमूलक क्षेत्रमा लगानी, विभिन्न सीप, प्रविधि सिकाउन थालेपछि बाख्रापालन आम्दानीको भरपर्दो र दिगो आयस्रोत हो भन्ने सबैमा चेतना बढ्दै गएको छ ।
बाख्रापालन व्यवसायमा राम्रो ज्ञान सीप र प्रविधि पाएपछि पाल्पा रामपुरका महिलाको दिनचर्या बदलिएको छ ।
बाख्रापालनलाई व्यवसायीकरण गर्न थालेपछि रामपुर–१० तल्लो कुमालगाउँ बस्ने कमला कुमालको दिन फेरिँदै गएका छन् । रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक साझेदारी तथा पछौटेपन उन्मूलन समाज बेस नेपालको सहजीकरणमा नगरभित्रका महिलालाई बाख्रापालनबाट जिविका धान्ने गरी माउ बाख्रा वितरण तथा विभिन्न औषधि, तालिम, बाख्रापालन गर्ने सीप पाएपछि उहाँले नयाँ प्रविधिबाट बाख्रापालन थाल्नुभयो ।
उहाँ भन्नुहुन्छ, “बाख्रापालनका लागि धेरै प्रविधि सिकियो, आधुनिक प्रविधिअनुसार पालनपोषण थालिएको छ, दानापानी, घाँसपात दिने तरिकालगायत धेरै सीप सिकेपछि बाख्रापालनमा सजिलो भएको छ, आफ्नो मेहनतले आर्जन गरेको कमाई हात पर्दा छुट्टै आनन्दको अनुभूति भइरहेको छ ।”
उहाँको घरमा नगरपालिकाको सहयोगमा एक माउ बाख्रासहित एक सानो पाठी र दुई ठूला माउ बाख्रा छन् । बाख्रापालन गरेर मनग्य आम्दानी गर्ने लक्ष्यसहित व्यवसाय विस्तार गर्दै जाने उहाँ बताउनुहुन्छ । धेरै मेहनत गर्न नपर्ने, घरको कामधन्दा, छोराछोरीको हेरचाह गर्दै बाख्रापालन कमाई गर्ने आधार बनेकामा उहाँ उत्साहित हुनुहुन्छ ।
तल्लोकुमाल गाउँकै गङ्गादेवी कुमालले बाख्रापालन गर्ने विभिन्न प्रविधि, सीपमूलक तालिम पाएपछि व्यवस्थित खोर निर्माण गरेर बाख्रापालन थाल्नुभएको छ । उहाँको घरमा हाल पाँच माउबाख्रा, दुईवटा पाठा, दुईवटा पाठी छन् । रामपुर नगरको सहयोगमा एक माउ बाख्रा पाएपछि अरु बाख्रा आफैँले थप गरेर व्यवसाय चलाउनुभएको हो ।
बाख्रापालनलाई व्यवस्थित गरी दिगो आम्दानीको स्रोत भित्र्याउन रु ४५ हजारको लागतमा करिब २० वटा बाख्रा अट्ने खोर निर्माण गर्नुभएको छ । उहाँले ५० वटासम्म माउ बाख्रापालन गर्ने लक्ष्य राख्नुभएको छ । एक बाख्राबाट सुरु गरेको व्यवसाय थपिँदै जाँदा अहिले नौ पुगेको छ ।
रामपुर नगरपालिकाले बाख्रापालनसम्बन्धी प्रविधि, बाख्रालाई औषधोपचार सेवा उपलब्ध गराएपछि पहिले र अहिले गर्ने व्यवसाय फरक भएको सुनार बताउनुहुन्छ । हाल उहाँको घरमा चार माउ, तीन पाठा, दुई पाठी गरी जम्मा नौवटा बाख्रा छन् । पाठापाठी र माउ बस्ने खोर नै बेग्लै बनाउनुभएको छ । विस्तारै घरमा उत्पादन भएका पाठी हुर्काएर माउ बनाउने र अन्य बाख्रा थप गरेर बढाउँदै जाने उहाँ बताउनुहुन्छ ।
रामपुरमा सुरु भएको परियोजनाले दुई वर्षदेखि तालिम तथा प्राविधिक सहयोगसहित नगरभित्रका १० वटै वडामा १० मूल समूह, १० युवा उद्यमी समूह र ३१ वटा उपहार समूह गरी ५१ समूह गठन गरेको छ । परियोजना सुरु भएदेखि चार सय २१ वटा बाख्रा माउ वितरण, उपहार प्रदान विधिअनुसार दिदी–बहिनी समूहलाई ३६ वटा माउबाख्रा प्रदान, नश्ल सुधारका लागि ५१ समूहमध्ये ४० समूहलाई ४१ वटा उन्नत जातको बीउ बोका प्रदान गरेको सो परियोजनाका संयोजक सन्जु परियारले जानकारी दिनुभयो ।
उहाँका अनुसार सो कार्यक्रममा नगरका ७७ जनाले बाख्रापालनका लागि आवश्यक उपयुक्त खोर निर्माण गरेका छन् । यस वर्ष समूहमा आबद्ध महिलाका लागि बाख्रा खोर सुधार कार्यक्रमअन्तर्गत रु २० हजार अनुदान प्रदान गरिएको छ । परियोजनाले छरिएर रहेका महिला तथा युवा उद्यमीलाई एकीकृत गरी सामूहिक भावनाको विकास गरी उद्यमी बन्न प्रेरित गर्दै आएको छ ।
घरपरिवार, छोराछोरीको जिम्मेवारी महिलाको काँधमा छ । महिलाले कमाइ गर्न नसक्दा घरपरिवार, समाज, आफन्त, छिमेकीबाट अपहेलित हुनुपरेको छ । आर्थिक समस्याले महिला हिंसाका घटना पनि विभिन्न ठाउँ–ठाउँमा घट्ने गरेका छन् । त्यसकारण रामपुर नगरपालिकाले गरेको यस कार्यले व्यावसायिक बाख्रापालनमा महिलाले उदाहरणीय काम गर्न थालेका छन् । गाउँ–गाउँमा हिजोआज बाख्रापालनको लहर चलेको छ ।
व्यावसायिक बाख्रापालनसम्बन्धी थोरैमात्र ज्ञान हुनुले यो व्यवसायलाई आशातित हिसाबले अगाडि बढाउन नसकिरहेको अवस्थामा अब भने नगर सरकारको सहयोगमा महिलाले बाख्रापालनलाई परिवारको दरिलो आयस्रोत बनाउनेतर्फ अग्रसर भइरहेका छन् ।
गाउँ–गाउँमा सडक सुविधाले उत्पादित कृषिउपज बजारसम्म लैजान सहज, बजारमा बाख्राको माग बढ्दो, बजार मूल्य राम्रो, थोरै लगानीमा खोरमा दुई–चार बाख्रालाई राम्रोसँग पालनपोषण गरेर दैनिकी चलाउन सकिने भएकाले बाख्रापालन व्यवसाय महिलाको मुख्य व्यवसाय बनेको छ ।