पचली भैरवको बाह्र वर्षे नाच आरम्भ

काठमाडौं, २९ काठमाडौं । प्रत्येक १२ वर्षमा एकपटक निकालिने ‘श्री पचली भैरव बाह्र वर्षे खड्गसिद्धी जात्रा (गथु प्याखं)’ हिजोबाट औपचारिक रुपमा आरम्भ भयो । हिजो उक्त बाह्र वर्षे जात्राका आयोजक गुठीले हनुमानढोका दरवार गई परम्परानुसार विधिवत् रुपले ‘ग्वयदां’ चढाएपछि जात्रा आरम्भ भएको हो ।

‘ग्वयदां’ चढाउनुको सांस्कृतिक अर्थ हुन्छ कुनै ठूलो पर्वमा सहभागी हुनका लागि राजालाई निमन्त्रणा गर्नु । पहिले राजतन्त्र हुँदा यो जात्राका लागि नारायणहिटी दरवारमा गई राजालाई नै ग्वयदां चढाउने गरिन्थ्यो । अहिले भने राजतन्त्र हटिसकेका कारण हनुमानढोका दरवारमा गई त्यहाँ राखिएको मल्लकालीन राजाको खड्गलाई ग्वयदां चढाउन थालिएको छ ।

हनुमानढोकाभित्र खड्गलाई राजा बस्ने आसनमै विराजमान गराइएको थियो । ग्वयदांका रुपमा १० वटा सिंगो सुपारी र पाँच वटा चाँदीको सिक्का सोही खड्गमा चढाइएको थियो । त्यसपछि हनुमानढोका दरवारको नासः चुकमा रहेको नासःद्यःलाई पूजा गरी टोली फर्केको थियो ।

यसरी ग्वयदां चढाइसकेपछि अब बाह्र वर्षे नाच आरम्भ भएको मानिन्छ । ग्वयदां चढाए लगत्तै नाचका गुठियारहरूले स्थानीय कुम्हालेकोमा गएर माटो लिने गर्दछ । त्यसपछि यो माटो चित्रकारलाई हस्तान्तरण गरिन्छ । चित्रकारले उक्त माटोबाट नाचमा सहभागी हुने देवीदेवताहरूको मुखौटा बनाउने गर्दछ । सोही मुखौटा लगाएर नाच निकाल्ने गरिन्छ ।

आउँदो दशैँको विजया दशमीको दिन यो नाच आरम्भ हुन्छ । उक्त दिन काष्ठमण्डप बाहिर रहेको भुतिसःमा नाचको पहिलो प्रदर्शन हुन्छ । सोही ठाउँमा राजासँग पचली भैरवले खड्ग सिद्धि गर्ने अर्थात खड्ग साट्ने परम्परा रहेको थियो ।

नेवार समुदायको गथु (मालाकार) जातिले चलाउने नाच भएको कारणले यसलाई ‘गथु प्याखं’ पनि भनिन्छ ।

तस्बिरः सन्देश मुनिकार

Leave a Reply

Your email address will not be published. Required fields are marked *