विश्वप्रकाशलाई विष्णु रिमालको जवाफी फायरः तपाईंलाई एमालेले ‘जाचकी’राखेको होइन

काठमाडौं, १४, साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एक कार्यक्रममा नेकपा (एमाले)का कार्यकर्ताविरुद्ध दिएको टिप्पणीको जवाफी फायर सुरु भएको छ । शर्माले नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ९ (क) प्रदेश कार्य समितिले शनिवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेकपा (एमाले) पार्टीमा युवा नेताहरुको हैसियत ‘दुनामा खाएर कुनामा बस्ने’ सरह पनि नभएको तुच्छ टिप्पणी गर्नुभएको थियो ।

उहाँले एमालेका युवाहरुलाई संसदीय दलको चुनावमा कमरेड केपी ओलीसँग प्रतिस्पर्धा गर्ने आँट गर्न सुझाव दिँदा उनीहरुबाट आफूहरुको अवस्था भनेको ‘कुनामा बस्ने, दुनामा खाने’ जवाफ पाएको भन्दै टिप्पणी समेत गर्नुभएको थियो । केही दिन अघि कांग्रेस मुख्यालयमा सम्पन्न कांग्रेसको केन्द्रीय कमिटीको बैठकमा सभापति शेरबहादुर देउवाले ‘शेरबहादुरलाई चिनेको छ’ बैठकमा आफ्ना कुरा राख्ने केन्द्रीय सदस्यलाई थर्काएको भिडियो भाइरल भएको थियो ।

त्यो भिडियोमा देउवाले थर्काउँदा सँगै बस्नुभएका शर्मा ट्वाँ परेको भिडियो अहिले पनि सामाजिक सञ्जालमा भाइरल छ । आफ्नो सभापतिका बारेमा चुँ पनि बोल्न नसक्ने शर्माले अन्य दलप्रति गरेको तुच्छ टिप्पणीलाई कार्यकर्ताले त्यति मन पराएका छैनन् । कार्यकर्ता मात्रै होइन एमाले उपमहासचिव विष्णु रिमालले त शर्मालाई गतिलो जवाफ फर्काइदिनु भएको छ ।

रिमालले ‘प्रिय विश्व जी’ भन्दै सम्वोधनसहित शर्माको भनाइसहित छापिएको समाचार सेयर गर्दै भन्नुभएको छ– ‘यो अखवारको हेडिङमा लेखिएकै जस्तो बोल्नु भएको भए ओहोदा अनुरुपको प्रतिक्रिया अलि भएन कि ? एमालेका ‘ठिटाहरु’ कुनामा बसुन कि छेउमा, दुनामा खाउन कि पातमा, किन फिक्री गर्नुहुन्छ १ काङ्ग्रेसलाई आफ्नै खुट्टामा उभिएर चुनाव लड्न सक्ने गरि तगडा बनाउनुस न भै गयो नि एमाले कस्तो बनाउने हाम्रै जिम्मामा रहन दिनुस । काङ्ग्रेसका माहामन्त्री ‘नुन खाएको कुखुरा जस्तो’ भन्ने इमेज हटाउनुस । एमालेले आफ्ना युवाहरूको ‘पर्फर्मेन्स’ परिक्षण गर्न यहाँलाई ‘जाचकी’ राखेको पनि छैन । एमाले जस्तो बन्ला, कृपया प्रतिस्पर्धाको लागि अलि बढी मिहेनत गर्नुहोला ।

अनेरास्ववियुका अध्यक्ष समिक वडालले पनि विश्वप्रकाश शर्माको त्यो भनाईको विरोध गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमै लेख्नुभएको छ– ‘शेरवहादुर देउवाले हिजो दुनामा दिएको प्रवक्ता पद खाएर कुनामा बसेको विश्वप्रकाश हामीले देखेका छौं। दुनामा खान नपाएको कुण्ठा एमालेको युवालाइ चित्रित गरेर जग हसाउन बन्द गर्नुस्।’