चितवनमा आँखा पाक्ने राेगकाे समस्या देखिएपछि दुई दिन विद्यालय बन्द

चितवन, १९ साउन । विद्यालयमा आउने बालबालिकामा आँखा पाक्ने समस्या बढ्दै गएपछि चितवनकाे खैरहनी नगरपालिकाका विद्यालयहरु दुई दिनका लागि बन्द गरिएको छ ।

विद्यार्थीमा आँखा पाक्ने समस्या भएपछि पालिकाभित्र रहेका विद्यालय तथा क्याम्पस साउन २१ र २२ गते दुई दिनका लागि बन्द गरिएको हो ।

नगर शिक्षा अधिकारी राजु बानियाले विद्यालय आउने विद्यार्थीमध्ये ४० प्रतिशतमा आँखा पाक्ने समस्या देखिएपछि विद्यालय बन्द गरिएको जानकारी दिनुभयो । सामुदायिक विद्यालयमा परीक्षा सकिएर वर्षे बिदा भएकाले संस्थागत विद्यालय र क्याम्पसहरु बन्द गरिएको उहाँले बताउनुभयो ।

बानियाका अनुसार अहिलेको बिदा विद्यालयले हिउँदे र बर्षे बिदाबाट कट्टा हुने गरी मिलान गर्नुपर्नेछ । यस पालिकामा सामुदायिक विद्यालय २७, संस्थागत विद्यालय २२ र कलेज चार रहेका छन् । यहाँ १७ हजार पाँच सय विद्यार्थी अध्ययन गर्दै आएका छन् ।

मौसममा आएको परिवर्तनसँगै ‘एडिनो भाइरस कन्जङ्ग्टिवाइटिस’का कारण बालबालिकामा आँखा पाक्ने समस्या देखिएको नगर स्वास्थ्य अधिकारी निर्मल घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार यो सङ्क्रमण पाँचदेखि सात दिनमा निको हुन्छ ।

यसबाट बच्नका लागि आँखाका बिरामीको संसर्गमा नआउने, कालो चस्मा लगाउने, आँखा परीक्षण गरी औषधिको प्रयोग गर्ने, सफा पानीले नियमित आँखा सफा गर्ने, नियमित साबुनपानीले हात धुने, तौलिया, रुमाल, लत्ताकपडा तथा शृङ्गारका सामानहरु साझा रुपमा प्रयोग नगर्ने घिमिरेले बताउनुभयो ।