धवलागिरि गाउँपालिका धारापानीमा ‘एक घर, एक धारा’

म्याग्दी, ३ भदौ । म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ ।

खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले धारापानीमा निजी धारा जडित खानेपानी आयोजना निर्माण भएको हो । रु एक करोडभन्दा बढीको लागतमा निर्माण भएको आयोजनाबाट दुई सय १४ घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको धारापानी खानेपानी आयोजनाको उपभोक्ता समितिका अध्यक्ष फतबहादुर खत्रीले जानकारी दिनुभयो ।

“आर्थिक वर्ष २०७३/७४ मा विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भएकामा २०७७/७८ देखि निर्माण सुरु भएको थियो”, उहाँले भन्नुभयो, “यो आयोजनाको काफलडाँडा र बगरको स्किम यसअघि नै निर्माण सकिएको थियो । धारापानीमा सबै घरमा धारा जडान गरेर खानेपानी वितरण भएको छ ।”

धारापानीकी मञ्जु थापाले घरमै जडान भएको धारामा नियमित खानेपानी आपूर्ति हुन थालेपछि समयको बचत र झन्झट हटेको बताउनुभयो । “पहिले सार्वजनिक धाराबाट पानी ल्याउन पालो कुर्नुपर्ने थियो”, उहाँले भन्नुभयो, “घरमै धारा बनेपछि खानेपानीका कारणले विवाद हुन छाडेको छ ।”

यसअघि सार्वजनिक धारामार्फत खानेपानी वितरण हुने आयोजनाको संरचना जीर्ण हुदाँ नियमित खानेपानी आपूर्ति नहुने समस्या थियो । धारापानीका बासिन्दा खानेपानी लिन, स्नान र कपडा धुन पँधेरा भन्ने ठाउँमा पुग्ने गर्दथे ।

उपभोक्ताको श्रमदानबाहेक रु एक करोड ११ लाख ९८ हजार दुई सय ४२ को लागतमा आयोजना निर्माण भएको खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले जनाएको छ । कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले अनुमानित लागतभन्दा कम खर्चमा आयोजना निर्माण सकिएको बताउनुभयो ।

“रु एक करोड ६५ लाख लागत अनुमान गरिएको थियो”, उहाँले भन्नुभयो, “ठेक्कामार्फत काम गर्ने हिसाबले तयार पारिएको लागत अनुमानमा उपभोक्ताले काम गर्दा कर, फिजिकल, आर्थिक प्रशासनिक परामर्श शीर्षकको खर्च घटेको छ ।” कुल लागतको २० प्रतिशत बराबर उपभोक्ताले श्रमदान गरेका छन् ।