उपत्यकाका तीन शहरमा तीनवटै तिथि
काठमाडौं, ३ भदौ । तिथि विवादका कारण यो वर्षको जनै पूर्णिमा र गाईजात्रा कहिले मनाउने भन्ने अन्यौल उत्पन्न भएको छ । यसै अन्यौलका कारण काठमाडौं उपत्यकाका तीन प्राचीन नगरमा अहिले जनै पूर्णिमा र गाईजात्रा मनाउने तीन वटै अलग अलग तिथिहरू सार्वजनिक भएका छन् ।
यस क्रममा काठमाडौंले आउँदो भदौ १४ गते जनै पूर्णिमा अर्थात गुंपुन्हि मनाउने र भदौ १५ गते गाईजात्रा अर्थात सापारु मनाउने निर्णय गरेको छ । यस्तो तिथि सम्बन्धी विवाद हुँदा काठमाडौंका स्थानीयवासी जनबहाल (सेतो मत्स्येन्द्रनाथको बहाल) बाट जारी गरिने तिथिलाई आधिकारिक मान्ने गर्दछन् ।
भक्तपुरले भने भदौ १३ गते जनै पूर्णिमा अर्थात गुंपुन्हि मनाउने र १४ गते गाईजात्रा (सापारु) मनाउने निर्णय गरेको छ । भक्तपुरमा तलेजु मन्दिरबाट जारी गरिने तिथिलाई आधिकारिक मान्ने चलन छ ।
त्यस्तै पाटनको लागि फेरि अर्कैै तिथि निकालिएको छ । पाटनमा गुंपुन्हि (जनै पूर्णिमा) र गाईजात्रा (सापारु) एकै दिन मनाउने भएको छ । यहाँ भदौ १४ गते दुवै पर्व एकै दिन मनाउने तिथि निकालिएको हो । पाटनमा गाईजात्रा निकाल्ने चलन छैन । यहाँ गाईजात्राको भोलिपल्ट दुतियाका दिन मतयाः निकाल्ने परम्परा रहेको छ । पाटनमा मतयाः भने भदौ १५ गते निकालिने भएको छ ।
पाटनमा स्थानीय हिरण्यवर्ण महाविहारले जारी गर्ने तिथिलाई आधिकारिक मान्ने चलन छ ।
कीर्तिपुरमा पनि काठमाडौंमा जस्तै भदौ १४ गते जनै पूर्णिमा र १५ गते गाईजात्रा मनाउने निर्णय भएको छ । कीर्तिपुरमा गाईजात्राका दिन ‘घेंघेंपापा’ यात्रा निकाल्ने गरिन्छ ।
जनै पूर्णिमा र गाईजात्रा मनाउन उपत्यकाका तीन प्राचीन शहरमा तीन वटै अलग अलग तिथि निकालिएका कारण कसैकसैले यसलाई उपत्यकाका स्थानीयवासीमा सांस्कृतिक एकता नभएको भनी व्याख्या गरेको पाइएको छ । तर विज्ञहरूले भने यसलाई सांस्कृतिक एकता नभएको भन्दा पनि सांस्कृतिक विविधताका रुपमा लिनुपर्ने बताएका छन् ।
उपत्यकाका नेवार समुदाय सांस्कृतिक रुपले अनेक विविधताले भरिएको छ । त्यसैले पर्व मनाउने अलग अलग तिथि निकालिए पनि स्थानीयवासीले आआफ्नै परम्परा अनुसार पर्व मनाउन सकिने बताइएको छ ।