भोजपुरे खुकुरीको संरक्षणमा जुटेका महेन्द्र

भोजपुर, २७ भदौ । भोजपुरे खुकुरी बनाएर भोजपुरका महेन्द्रकुमार विश्वकर्माले मनग्य आम्दानी गर्दै आउनुभएको छ । लोप हुने अवस्थामा रहेको कालिगड पेसालाई अँगालेर उहाँले वार्षिक रु आठ देखि रु १० लाखसम्म आम्दानी गर्दै आउनुभएको हाे ।

भोजपुर नगरपालिका–५ बोखिमका विश्वकर्माले बाउबाजेले गर्दै आएको कामलाई निरन्तरता दिँदै ४० वर्षदेखि यो पेसा गर्दै आएको बताउनुभयो । आफ्ना पितापुर्खाले बनाएको भोजपुरे खुकुरीको बजारमा छुट्टै पहिचान रहेकाले यसलाई बचाइराख्न आफूले पनि यो पेसालाई निरन्तरता दिएको उहाँको भनाइ छ ।

[bsa_pro_ad_space id=69]

“पछिल्लो समयमा कालिगड पेसासँगै भोजपुरे खुकुरी लोप हुने अवस्थामा छ”, विश्वकर्माले भन्नुभयो, “भोजपुरे खुकुरी बनाउने हाम्रो पुख्र्यौली पेसा हो । भोजपुरे खुकुरीको मौलिकतालाई बचाउँदै पेसालाई नयाँ पुस्तासम्म पुर्याउन जुटेको छु । यही पेसाबाट राम्रै आम्दानी पनि गरिरहेको छु ।”

जिजुबाजेदेखि यही पेसा गरेर नै जीवन बिताएको उहाँले बताउनुभयो । तत्कालिन राजा महेन्द्र शाहको सवारी हुँदा आफ्ना बुवाले मेरो सीपले बनाएको भोजपुरे खुकुरी भनेर २०१३ सालमा चढाएपछि भोजपुरे खुकुरीको पहिचान अझ चुलिएको उहाँको भनाइ छ । त्यो समयमा खुकुरी चढाएवापत रु एक हजार चार सय राजाबाट बक्सिससमेत पाएको विश्वकर्माले सुनाउनुभयो ।

“भोजपुरे खुकुरी बनाउनेमा धेरै वर्षदेखि हाम्रा बाउबाजेको छुट्टै पहिचान छ”, उहाँले भन्नुभयो, “मैले त्यहि पेसालाई निरन्तरता दिँदै भोजपुरे खुकुरी बनाउँदै आएको छु । विगतमा पाएको ख्यातिमा आँच आउन नदिन परम्परागत औजार उपकरणको प्रयोग गरेर नै खुकुरी बनाउँछु । बजारमा पुरानोशैलीबाट बनाइएका खुकुरी पाउन मुस्किल छ ।”

‘महेन्द्र खुकुरी उद्योग’ दर्ता गरेर कालिगड पेसागर्दै आएका विश्वकर्माले आफुले बनाएको खुकुरी रु एक हजार पाँच सयदेखी रु ३० हजारसम्ममा बिक्री गर्दै आएको बताउनुभयो । यहाँ निर्माण भएका खुकुरी स्थानीय बजारसँगै जापान, अमेरिका, बेलायतलगायत देशमा उपहारको रुपमा जाने गरेको बताउनुभयो । आफुले सिरुपाते, कोथीमोडा, बाँसपाते, बुदुना र तीनपाटा आकारका भोजपुरे खुकुरीसँगै मागका आधारमा तरवार, कट्टीलगायत सामग्री निर्माण गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

कालिगड विश्वकर्माका दुई छोराले पनि यही पेसा गर्दै आएका छन् । बजारको अझ राम्रो व्यवस्थापन हुनसके वार्षिक रु २० लाखसम्म आम्दानी लिन सकिने छोरा ज्ञानेन्द्रले बताउनुभयो । गाउँमा रहेको उद्योगबाट सिधैँ बाह्य बजारमा पठाउन सक्ने वातावरण भए राम्रो आम्दानी लिन सकिने उहाँको भनाइ छ ।

खुकुरीले ख्याति कमाएको जिल्लामा दक्ष कालिगड पाउन समस्या छ । खुकुरी बनाउने पेसालाई अपहेलनाका रूपमा हेरिने गरिएका कारण पनि यो पेसा सङ्कटमा पर्ने अवस्था छ । व्यवसाय सञ्चालनका लागि कच्चा पदार्थसँगै गुणस्तरीय फलामको अभाव छ । राज्यले यस्ता उद्योगको सहज सञ्चालनका लागि आवश्यक सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

पछिल्लो समय गुणस्तरभन्दा पनि सजिलोको बाहनामा पुरानो शैलीमा भोजपुरे खुकुरी बनाउने चलन हराउँदै गएको छ । गुणस्तरीय ढङ्गले पाइन नलगाएको खण्डमा हेर्दा राम्रो देखिए पनि खुकुरी केही समयमा बिग्रने विश्वकर्मा बताउनुहुन्छ । सस्तोका नाममा बाहिरबाट आउने खुकुरीले भोजपुरे खुकुरीको पहिचान हराउने अवस्था आएको उहाँले बताउनुभयो ।

[bsa_pro_ad_space id=68]