डोकाे बिक्रीबाट मासिक रु ३५ हजारसम्म आम्दानी गर्दै चन्द्रबहादुर

भोजपुर, १५ असोज । भोजपुरका चन्दबहादुर तामाङले डोकाे बिक्रीबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ । पछिल्लो पुस्ताको कमै मात्र रोजाइमा पर्ने यो कामबाट घरपरिवार चलाउन समस्या नरहेको उहाँको भनाइ छ ।

टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा खम्बुखाका ७० वर्षीय तामाङले ४० वर्षअघिबाट डोका बुनेर बिक्री गर्दै आएको बताउनुभयो । एकदिनमा आठदेखि दश ओटासम्म डोकाे तयार गर्ने उहाँको भनाइ छ । डोकाे बिक्रीबाट मासिक रु ३० देखि ३५ हजारसम्म आम्दानी हुने उहाँले जानकारी दिनुभयो ।

“चालीस वर्षअघिबाट डोकाे बुन्ने काम गर्दै आएको छु”, उहाँले भन्नुभयो, “एक दिनमा आठदेखि दश वटासम्म डोकाे बुन्छु । डोकाे बिक्रीबाट मासिक रु ३० देखि ३५ हजारसम्म आम्दानी हुन्छ । डोकाेबाट नै मेरो चिनारी बनेको छ ।” डोकाे स्थानीय बजारमा प्रतिगोटा रु तीन सय ५० देखि चार सयसम्ममा बिक्री हुने तामाङले बताउनुभयो । घरको अन्य काम नगरी यही मात्र पेसा गर्ने हो भने वार्षिक रु सात÷आठ लाखसम्म आम्दानी लिन सकिने उहाँको भनाइ छ ।

“डोकाे बुन्ने कामबाट राम्रै आम्दानी हुन्छ”, उहाँले भन्नुभयो, “यही मात्र व्यवसाय गर्ने हो भने वार्षिक रु सात/आठ लाख आम्दानी गर्न कठिन हुन्न । अन्य कृषि कर्म गरेर बचेको समयमा बुनेर पनि वार्षिक रु तीनदेखि चार लाखसम्म आम्दानी हुन्छ ।”

आफूले बुनेको मालिङ्गो (लेकमा पाइने बाँस प्रजातिको वनस्पति) का डोकाे जतनसँग प्रयोग गरेमा तीन वर्षसम्म टिक्ने उहाँको भनाइ छ । मालिङ्गोबाहेक, सिँगाने, निकालो, बाँसलगायतको चोयाबाट पनि डोकाे तयार गर्न सकिने उहाँको भनाइ छ । डोकाेको लागि विभिन्न ठाउँबाट माग हुने उहाँले बताउनुभयो ।

आफूले बुनेको डोकाेलाई भोजपुर सदरमुकाममा लगेर बिक्री गर्दै आएको उहाँको भनाइ छ । बजारसम्म पुग्नको लागि घरबाट पाँचदेखि छ घण्टासम्म लाग्ने उहाँले बताउनुभयो ।

“डोकाको माग धेरै ठाउँबाट आउँछ”, उहाँले भन्नुभयो, “यसको मुख्य बिक्री गर्ने ठाउँ भनेको भोजपुर बजार नै हो । बजारमा लगेर बिक्री गर्छु । मैले बुनेको डोका किन्न गाउँ/गाउँबाट मानिस आउँछन् ।”

सामुदायिक वनले कडीकडाइ गर्ने भएकाले कच्चा पदार्थ जुटाउन भने समस्या रहेको तामाङले बताउनुभयो । मालिङ्गो काट्नको लागि वर्षमा एक पटक मात्र खुला हुने गरेको उहाँको भनाइ छ । आफ्नै निजी बारीमा उत्पादन हुने मालिङ्गो, सिँगानेलगायतबाट डोकाे बुन्दै आएको तामाङको भनाइ छ ।

“नयाँ पुस्ताले यो काम गर्न चाहँदैनन्”, उहाँले भन्नुभयो, “डोकाे बुन्नको लागि पनि धेरै दुःख हुन्छ । हामीलाई कच्चा पदार्थ जुटाउन समस्या छ । सहजरुपमा पाउने अवस्था छैन ।” प्रविधिको विकाससँगै गाउँघरमा नाङ्लो, डोको, थुन्से, फिपी, ढाँकी, मान्द्रो, डालोलगायत बनाउने सीप हराउँदै गएकाले यसको संरक्षण गर्न आवश्यक रहेको तामाङले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *