दसैँका लागि अग्रीम टिकट बुकिङ खुलेसंगै घर जानेकाे लर्काे (तस्बिरहरू )
काठमाडौँ, २२ असोज । दसैँ, तिहार तथा छठ पर्वमा घर जाने यात्रुलाई लक्षित गरेर आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ ।
देशका विभिन्न क्षेत्रबाट सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीको लागि आएकाहरू चाडपर्व मनाउन घर जानेलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला गरेको हो ।
घटस्थापना आउन ६ दिन बाँकी रहँदा सरकारले अग्रिम टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन बिहानैदेखि यात्रुको भीड लागेको छ । नयाँ बसपार्कमा गत वर्षहरुका तुलनामा यस वर्ष यात्रुको भीडभाडसमेत बढेको छ ।
अग्रिम टिकट बुकिङ काउन्टरमा पश्चिमको दार्चुला, डँडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, रोल्पा तथा पूर्वको ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भीडभाड लागेको छ ।
परिवारका चार सदस्यलाई लिएर दार्चुला जान लाग्नुभएका दीपक रावल बिहान ३ बजे ललितपुरबाट टिकट काट्नका लागि नयाँ बसपार्क आइपुग्नुभयो । आगामी कात्तिक २ गते दार्चुला जानका लागि नयाँबसपार्क आइपुग्नुभएका रावलले बिहान ८ः३० बजेसम्म टिकट पाउनुभएको छैन । “दार्चुला जाने बस थोरै भएकाले टिकट पाउन समस्या भएको छ, दसैँको समयमा त बस थप्नुपरो नि”, उहाँ भन्नुहुन्छ । काठमाडौँबाट दार्चुलाको भाडादर रु चार हजार छ सय छ ।
यस्तै, काठमाडौँबाट धनगढीका लागि टिकट लिन नयाँबसपार्क आउनुभएका देवराज ओझा पनि टिकट काट्ने पर्खाइमा हुनुहुन्छ । काठमाडौँको नयाँ बानेश्वरस्थित युनिभर्सल कलेजमा सुपरभाइजरका रुपमा कार्यरत ओझालाई काठमाडौँदेखि धनगढीसम्म पाँच जनाको टिकट चाहिएको छ । उहाँ बिहान ५ बजेदेखि नै लाइनमा हुनुहुन्छ ।
सरकारले अनलाइनमार्फत टिकट काट्ने व्यवस्था मिलाइदिएको भए घरमै बसेर टिकट काट्न पाइन्थ्यो, नयाँबसपार्कमा भीडभाड हुँदैनथ्यो, अनलाइनमार्फत टिकट काट्न सकिन्छ भन्छन् तर सधैँ दसैँ लागेपछि नयाँबसपार्क धाउनुपर्छ”, उहाँ भन्नुहुन्छ ।
धनगढीकै कपिल ओझा काठमाडौँदेखि धनगढीको हवाई भाडा ज्यादै महँगो भएकाले बसको टिकट काट्न आएको बताउनुहुन्छ । “बस व्यवसायी र वायुसेवा कम्पनीले दसैँको समयमा यात्रुलाई अफर दिनुको साटो झन टिकट बढाउने गरेका छन्, यो राम्रो कुरा होइन”, उहाँ भन्नुहुन्छ । काठमाडौँदेखि धनगढीको बस भाडा रु दुई हजार सात सय रहेको छ ।
यस्तै, काठमाडौँदेखि अर्घाखाँचीको सन्धीखर्क जानका लागि कक्षा १२ मा अध्ययनरत छात्र विवेक श्रेष्ठ पनि बिहानै नयाँ बसपार्क आउनुभएको छ । १ गतेदेखि ४ गतेसम्मको जुन दिनको टिकट पाए पनि काट्ने मनस्थितिका साथ बसपार्क आउनुभएका श्रेष्ठ लिभरपुल कलेजमा अध्ययरत गर्नुहुन्छ ।
यस्तै, पूर्वको ताप्लेजुङ जानका लागि दीपकुमार लिम्बू बिहानै टिकट काट्न नयाँ बसपार्क आउनुभएको छ । उहाँले एक घण्टा लाइन बसेर सहजै टिकट लिनुभयो । काठमाडौँदेखि देशको पश्चिम क्षेत्रभन्दा पूर्व क्षेत्रमा जाने यात्रुले तुलनात्मक रुपमा सहजरुपमा टिकट पाएका छन् । पूर्व क्षेत्रमा चल्ने सार्वजनिक सवारी साधनलाई पूर्व यातायात व्यवस्थापन प्रालिमार्फत टिकट लिने व्यवस्था मिलाइएको छ । पूर्व यातायात व्यवस्थापन प्रालिका सञ्चालक सुनिल कुँवर पूर्व जाने यात्रुको सहायताका लागि एउटै व्यवस्थापन निर्माण गरी यात्रुलाई सेवा प्रदान गरिएको बताउनुहुन्छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष पुन्यप्रसाद (सरोज) सिटौला यसपालिको दसैँमा घर जानका लागि यात्रुले सहजै टिकट पाउने दाबी गर्नुहुन्छ । “राजमार्ग बिग्रिएको कारण काठमाडौँ आउजान सार्वजनिक सवारी साधनलाई केही समय लाग्ला तर बस नपाएर कोही यात्रु रोकिनु पर्दैन”, उहाँ भन्नुहुन्छ । सरकारले दसैँका लागि देशका सबै क्षेत्रको यातायातको लागि रोड परमिट खुला गर्ने तयारी गरेको छ । हरेक वर्ष दसैँ मनाउनका लागि सङ्घीय राजधानी काठमाडौँबाट २० देखि २२ लाख यात्रु उपत्यकाबाट बाहिरिने गरेका छन् ।