साताकाे अन्तिम कारोबार नेप्से परिसूचक घटेर बन्द
काठमाडाैं, २३ कात्तिक । तिहार अघिको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ।
दिन नेप्से परिसूचक ११.८५ अंक घटेर १८५२.०८ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.३६ अंक घटेको छ ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा केही बढेको छ। यस दिन २८२ स्टकको २७ हजार ८४५ पटकको कारोबारमा ८३ करोड ६० लाख ५ हजार रुपैयाँ बराबरको २८ लाख ३३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
बिहीबार १९९ स्टकको मूल्य घटेको छ भने ७२ स्टकको मूल्य बढेको छ। शेयरमूल्य बढेका स्टकहरुको वृद्धिदर भने ६ प्रतिशतभन्दा कम रहेको छ। यस दिन सनराइज ब्लुचिप फण्डको इकाईमूल्य सर्वाधिक ५.८५ प्रतिशत बढेको छ।
त्यसैगरी, ओरियन्टल होटलको शेयरमूल्य यस दिन ४ प्रतिशत बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको माउन्टेन इनर्जी नेपालको शेयरमूल्य यस दिन सर्वाधिक ६.५८ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन नेपाल एसबिआई बैंक र माया खोला हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७ करोड ६७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सोल्टी होटल र हाथवे इन्भेष्टमेन्टको साढे ३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.५५ प्रतिशत घटेको छ।