नेप्सेसंगै बढ्यो कारोबार रकम

काठमाडाैं, ७ मंसिर । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन साढे २० अंकभन्दा बढी बढेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यस दिन नेप्से परिसूचक ९.८७ अंक बढेर १८६०.२० विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.७६ अंक बढेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन १ अर्बको शेयर कारोबार भएको बजारमा यस दिन २९२ स्टकको ४८ हजार ४९३ पटकको कारोबारमा १ अर्ब ३४ करोड ८३ लाख रुपैयाँ बराबरको ४४ लाख २० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, यस दिन थ्रिस्टार हाइड्रोपावर र सिक्लेस हाइड्रोपावरको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ भने सानिमा रिलायन्सको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।

हालसम्मकै कम लाभांश वितरण गर्ने घोषणा गरेको नबिल बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ८.२० प्रतिशत घटेको छ। सो बैंकको यस दिन सबैभन्दा बढी शेयर कारोबार भएको छ।

कम लाभांश घोषणा गरेका कारण बैंकको शेयरमा बिक्रीचाप देखिएको हो। यस दिन बैंकको १३ करोड १० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन सोनापुर मिनरल्सको साढे ९ प्रतिशतभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३.३७ प्रतिशत बढेको छ।