सिन्धुपाल्चाेककाे गौरती भिमशेनमा साँगीतिक कार्यक्रमसहितकाे मेला लाग्दै, मेला ११ र १२ गते

दिपेन्द्र श्रेष्ठ, मैत्री न्यूज
सिन्धुपाल्चाेक, ६ मंसिर । सिन्धुपाल्चोककाे गौरतीमा अवस्थित गौरती भिमशेनमा साँगीतिक कार्यक्रमसहितकाे मेला लाग्ने भएकाे छ ।

यस वर्ष मलमासका कारण केही समय पछि परेकाे भिमशेन मेला यस वर्ष मंसिरकाे ११ र १२ गते परेकाे हाे । यस दिन गौरती भिमशेन मन्दिर परिसरमा भव्य मेला लाग्ने गर्दछ ।

सिन्धुपाल्चोक जिल्लाकै ठुलो मानिने गौरती भिमेश्वरको मेलामा देशका विभिन्न जिल्लाबाट ठूलो संख्यामा भक्तजनहरु आउने गरेका छन् ।

सिन्धुपाल्चोककाे साँगाचोकगढी नगरपालिकामा रहेको प्रसिद्ध ऎतिहासिक धार्मिक स्थल गौरती भिमेश्वर मन्दिरमा हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन श्रदालु भक्तजनहरूले मेला भर्दै आइरहेकाे छ ।

यस वर्ष मेलाको अवशरमा दर्शनार्थीहरुकाे मनाेरञ्जनका लागि गाैरती युवा समुहले विविध साँस्कृतिक कार्यक्रम समेत आयाेजना गरेकाे छ । युवा समुहले जिल्लामा रहेका चर्चित गायक गायिकाहरूकाे उपस्थितीमा बृहत साँस्कृतिक कार्यक्रम गर्न लागेकाे हाे । साँस्कृतिक कार्यक्रमले दर्शनार्थीहरूमा बिशेष मनाेरञ्जन प्रदान गर्ने समुहले जनाएकाे छ ।

पौराणीक कालमा जंगल रहेको सो डाँडामा गोठालाहरुले खर्क राखी गाई चराउने गर्दथे । गाईले राती–राती एउटा ढिस्कोमा दुध चढाउने गरेको गोठालाहरुले पत्ता लगाएपछि भोलिपल्ट खनेर हेर्दा रगत देखा पर्नुको साथै दिव्य मूर्ती प्रकट भई दैनिक पूजा गरे भलो हुने बताउँदै अन्र्तध्यान भएकोले सोही समयदेखि पूजाआजा गर्ने गरेको मान्यता रहेको छ । ‘गौ’ अर्थात गाईले राती दुध चढाएको कारण गौरती हुन गएको मान्यता छ ।

भिमेश्वरको मन्दिरमा पूर्णिमाका दिन भक्तजनहरू रातभर जाग्राम बसी भिमशेनकाे आराधना गरि बत्ति बालिन्छ साथै मेला अवधिभर ‘पितृ’को सम्झानामा बत्तीसमेत बालिन्छ । मेला रातभरि नाचगान गरि भव्यताका साथ मनाइन्छ । यस अवसरमा पञ्चबली दिने पनि परम्पर रही अएकाे छ ।

मेलामा सदरमुकाम चौताराबाट भिमसेनको मूर्तीलाई रथमा तानेर पूणिमाको रात गौरती मन्दिरमा रहेको मूर्तीसँग मिलन गराएपछि एकादशीको दिन पुनः फर्काइन्छ। त्यसरी फर्काइने बेला गुठीयारको घरघरमा रथ लगि पूजा गर्ने चलन छ । तत्पश्चात सिन्दुरे जात्रा सहित द्वादशीको दिन मेला सम्पन्न गरिने परम्परा रहेकाे छ ।

धार्मिक आस्थाराख्ने भक्तजनहरुले यहाँको मन्दिरलाई दोलखा भीमसेन जतिकै शक्तिशाली मान्दछन् र मनले चिताएको पुरा हुने विश्वास गरिन्छ ।

मेला भर्न छिकेकी जिल्ला काठमाडाैं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चाेक, दाेलखा, रामेछाप, नुवाकाेट, धादिङलगाएतका स्थानबाट हज्जाराै दर्शनार्थीहरु आउने गरिएकाे छ । गौरती भिमेश्वर काठमाडाैंबाट ८२ किलाेकिटरकाे दुरीमा रहेकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *