इजरायल–हमासबीचको युद्धविराम सम्झौता समाप्त, इजरायलले फेरी सुरु गर्याे युद्ध
काठमाडौं, १५ मंसिर । इजरायली सेनाले प्यालेस्टिनी अतिवादी समूह हमासविरुद्धको लडाइँ फेरि सुरु गरेको छ।
इजरायल–हमासबीचको युद्धविराम सम्झौता समाप्त भएसंगै थप एकदिन लम्बिएको युद्धविरामको सम्झौता भङ्ग गरी इजरायलद्वारा आक्रमण सुरू गरेकाे जनाइएकाे छ ।
बीबीसीका अनुसार सम्झौता समाप्त हुनु केही समयअघि इजरायलले गाजाबाट प्रहार गरिएको रकेट खसालेको दाबी गरेको थियो ।
गाजाको दक्षिण क्षेत्रमा केही हवाई आक्रमण भएको हमासको अधीनमा रहेको आन्तरिक र राष्ट्रिय सुरक्षा मन्त्रालयले जनाएको छ। गाजाको उत्तरी क्षेत्रमा केही धमाका पनि सुनिएको छ। इजरायल रक्षा बलले आफ्नो फाइटर विमानहरुले हमासलाई निशाना बनाउँदै हवाई आक्रमण गरेको बताएको छ।
विगत ७ दिनको यूद्धविराममा हमासले ११० बन्धक छाड्दा इजरायलले भने २४० प्यालेस्टिनी कैदीलाई रिहा गरेको थियो।
यद्यपि, आक्रमण सुरु भएपनि इजरायल र हमासबीचको युद्ध विरामलाई थप लम्बाउन भने मध्यस्तरमार्फत पहल भइरहेकाे प्यालेस्टिनी अधिकारीहरुले जनाएको छ।