पश्चिम नेपालमा यस वर्षकै पहिलाे हिमपात, हिमपातले हवाइसेवा पनि प्रभावित
हुम्ला, १८ मंसिर । पश्चिम नेपालका विभिन्न स्थानमा यस वर्षकाे पहिलाे हिमपात भएकाे छ । पश्चिम नेपालकाे सिमकोटसहित तल्लो भेग, कालीकोटको मान्म, मुस्ताङ, उत्तरी क्षेत्र नाम्खालगाएतका स्थानमा हिमपात र वर्षा भएकाे हाे ।
हुम्लामा बिहानैदेखि हिमपात सुरु भएको छ । हिमपातपछि चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।
सिमकोटसहित तल्लो भेगमा समेत हिमपात भइरहेको छ भने जिल्लाको उत्तरी उच्च क्षेत्रमा एक फिटसम्म हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको नाम्खा गाउँपालिका–६ स्थित हल्जी स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी लोकेश बोहराले बताउनुभयो ।
हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्र नाम्खा गाउँपालिकामा चिसो अत्यधिक बढेको स्वास्थ्यकर्मी बोहराले बताउनुभयो । हिमपात भएसँगै आवतजावतमा समेत कठिनाई भएको उहाँले बताउनुभयो ।
आज विहानदेखि हिमपात भएसँगै अन्तरजिल्ला जोड्ने यातायातको साधन, हवाइसेवा पनि प्रभावित बनेको छ । जिल्ला बाहिर जाने यात्रु समेत सिमकोटमै रोकिएका छन् । बिहान, बेलुका र राति चिसो अत्यधिक बढेको स्थानीय लव परियारले बताउनुभयो । अहिलेसम्म सदरमुकाम सिमकोटमा चार इञ्चभन्दा बढी हिमपात भएको छ ।
यस वर्ष पहिलो पटक हिमपात भएको र यसले बालीलाई राम्रो गर्ने स्थानीयको भनाइ छ । जेठमा पाक्ने उवा, जौँ र गौँ बालीलाई यसपटक परेको हिउँले उत्पादनमा राम्रो गर्ने भएको छ । चिसोबाट बच्न यहाँका बासिन्दा, कर्मचारी, विद्यार्थीले दाउराको जोहो गर्दै आगो ताप्ने गरेको छ ।
मुस्ताङमा पनि हिमपात
मुस्ताङमा यस याममा पहिलो पटक हिमपात भएको छ । सोमबार बिहानैदेखि हिमपात भएको हो । सदरमुकाम जोमसोमदेखि आसपासका सबै क्षेत्रमा हिमपात भइरहेको सहायक बागलुङ प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
विहानैदेखि हिमपात भए पनि कार्यालयहरु सञ्चालन भएको उहाँको भनाइ छ । यातायताका साधान पनि निरन्तर चलिरहेका छन् । हिमपात भएपछि जनजीवन कष्टकर भए पनि किसान भने हर्षित भएका छन् । लामो समय वर्षा नहुँदा किसानका बाली सुक्न थालेका थिए ।
यो सिजनमा परेको पानीले बालीनाली राम्रो हुने स्थानीय इन्द्रमान गौचनको भनाइ छ । यसभन्दा अगाडि मौसम बदलिराखे पनि हिमपात हुननसकेको उहाँको भनाइ छ । विहानैदेखि परेको हिमपातले स्थानीयलाई कामधन्दा र पशुचौपायालाई दाना तथा घाँस खुवाउन समस्या भइरहेको गौचनले बताउनुभयो ।
मान्ममा पनि हिमपात
कालीकोटको मान्ममा पनि आज बिहानैदेखि पानी परेपछि कालीकोटका किसान खुसी भएका छन् । कर्णालीका हिमाली जिल्लामा पानी र हिमपात सुरु भएपछि बाली सप्रिने आशामा किसान खुसी भएका हुन् ।
पानीसहित हिमपात पर्नु किसानका लागि निकै राम्रो भएको कालिकोट नरहरिनाथ गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष प्रदीप बोहोराले बताउनुभयो ।
मान्मको तल्लो भू–भागमा पानी परेको छ भने उच्च क्षेत्रमा हिमपात सुरु भएको कालीकोट रास्कोट नगरपालिका–१ का धनिराम सिंम्खडाले जानकारी दिनुभयो ।