नेपालगञ्जस्थित खाद्य व्यवस्थाले खरिद गर्याे चार हजार क्विन्टल धान

बाँके, १८ मंसिर । नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हालसम्म चार हजार क्विन्टल धान खरिद गरेको छ ।

मंसिर ६ गतेदेखि कम्पनीले धान खरिद गर्न सुरु गरेकामा दस दिनको अवधिमा किसानले उत्पादन गरेको चार हजार क्विन्टल धान खरिद गरिसकेको लिमिटेडका नेपालगञ्ज शाखा प्रमुख रामशरण लामिछानेले बताउनुभयो ।

उहाँका अनुसार हालसम्म छ सय ८० क्विन्टल मोटो धान र तीन हजार तीन सय २० क्विन्टल मध्यम धान गरेर चार हजार क्विन्टल धान खरिद गरिएको छ । दैनिक धान बिक्री गर्न आउने किसानको सङ्ख्या बढ्न थालेकाले दुई वटा तराजु लगाएर खरिद सुरु गरिएकामा अबदेखि तराजुको सङ्ख्या बढाएर चार वटा गरिने उहाँले बताउनुभयो ।

एक जना किसानबाट ४० क्विन्टल धान खरिदको कोटा निर्धारण गरेर खरिद कार्य भइरहेको र अहिले दैनिक १५ देखि १८ जना किसानको धान खरिद गरिरहेको शाखा प्रमुख लामिछानेले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पालिकाको सिफारिस लिएर आउने कृषकलाई पालो तोकेर धान किन्ने दिनमा बोलाउँछौँ । यसो गर्दा विगतको जस्तो लामो लाइन लागेर कृषकले दुःख पाउने अवस्था यो वर्ष हुने छैन ।” गैरकृषकले धान बेच्ने अवस्था नआओस् भन्नका लागि वास्तविक किसानको पहिचान हुने गरी पालिकाबाट सिफारिस लिएर आउन अनिवार्य गरिएको छ ।

यस वर्ष नेपालगञ्जमा ५१ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिइएकामा ३३ हजार क्विन्टल मोटा र १८ हजार क्विन्टल मध्यम धान खरिद गरिने भएको छ ।

सरकारले मोटा धानको मूल्य प्रतिक्विन्टल रु तीन हजार एक सय ९८ र मध्यम धानको मूल्य प्रतिक्विन्टल रु तीन हजार तीन सय ६२ कायम गरेकाले सोही मूल्यमा खाद्य व्यवस्था कम्पनीले धान खरिद गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *