नारायणगढ–मुग्लिन सडक आजदेखि दैनिक चार घण्टा बन्द हुने
चितवन, ७ पुस । नारायणगढ–मुग्लिन सडकखण्ड शनिबारदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ।
तुइन खोलामा पुल बनाउन भित्ता काट्नुपर्ने भएपछि बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द गर्न लागेका हुन् । भिर भएको ठाउँमा पुल बनाउनुपर्ने भएकाले यातायात सेवा बन्द गरेर नै काम गर्न लागिएको आयोजनाले जनाइएकाे छ।
चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारी साधन रोकिने छन्। नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान १०ः४० बजेसम्म चलाउन पाइने छ भने मालवाहक सवारी साधन भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०ः३० बजेसम्म मात्र चलाउन पाइने छ।
काठमाडौंबाट आउने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केबुलकारसम्म बिहान १०ः५५ सम्म तथा मालवाहक सवारी सधान १०ः४५ सम्म मात्र चलाउन पाइने सूचना अधिकारी आचार्यले बताए।
यसैगरी, पोखरातर्फबाट आउने यात्रुवाहक सवारी साधनलाई बिहान १०:५५ बजेदेखि बेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारी साधनलाई बिहान १०:४५ बजेदेखि सत्रसय फाँटमा रोकिने छ। पहिलो चरणमा तीन हप्ताका लागि सडक बन्द गरेर भित्तो काटिने छ। गत वर्ष भित्तो काटिएको भए पनि कडा चट्टान भएकाले काम गर्न कठिन भएपछि विस्फोटका लागि रोकिएको थियो। विस्फोटको अन्तिम तयारी गर्दैगर्दा पुनः एकपटक सडक बन्द गरेर काट्ने तयारी गरिएको आचार्यले बताए।
६० मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको थियो। बाँकी ३५ मिटर सडक अब काट्न लागिएको आचार्यले बताए। यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी साधन चल्ने गर्छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चार घण्टा सवारी साधन रोकिने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ।