एमालेको संकल्प यात्रा राष्ट्रको संकल्प यात्रामा स्थापित भयोः महासचिव पोखरेल

काठमाडौं, २० पुस । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमालेले सञ्चालन गरेको समृद्धिको लागि संकल्प यात्रा देशकै संकल्प यात्रा भएको बताउनुभएको छ । नेकपा (एमाले) का प्रदेश पदाधिकारीको राष्ट्रिय भेलालाई पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताउनु भएको हो ।

एमालेले सञ्चालन गरेको पुष्पलाल मध्यपहाडी लोकमार्ग समृद्धिका लागि सङ्कल्प यात्रा एमाले पार्टीको यात्रामा मात्र सीमित नरहेको उहाँको भनाई थियो । यात्राले पार्टीलाई एकताबद्ध र जनतामा स्थापित गर्ने काम गरेको उहाँले बताउनुभयो । ‘यो यात्रा एमालेले सञ्चालन गरे पनि यो सिङ्गो राष्ट्रको संकल्प यात्राको रूप स्थापित भयो’, पोखरेलले भन्नुभयो ।

संकल्प यात्रा सबै खालका अतिवादीलाई निस्तेज पार्ने दिशामा उपलब्धि प्राप्त गरेको पोखरेलको भनाइ छ । सो यात्राको उपलब्धिलाई प्रदेश कमिटीले सङ्गठनात्मक जीवनमा ढाल्न सक्नुपर्ने उहाँको धारणा छ ।

पोखरेलले मिसन ग्रासरुटको सुझावका आधारमा पार्टीलाई वार्षिक कार्य योजना बनाई व्यवस्थित ढङ्गले अगाडि बढाउने प्रयास भइरहेको बताउनुभयो । केन्द्र, प्रदेश र पालिका कमिटीसम्मले सोही प्रतिवेदनलाई आधार मानेर आफ्नो कार्य योजना बनाएर काम गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

उहाँले पार्टीका जिल्ला अधिवेशन केन्द्रीय संगठन विभागले प्रमाणीकरण गरेको सदस्यता सङ्ख्याका आधारमा गर्नुपर्ने प्रष्ट पार्नुभयो । प्रतिनिधि छनोट तथा अधिवेशनमा युवा र महिला सहभागिता विशेष ध्यान दिन उहाँले आग्रह गर्नुभयो । पोखरेलले पार्टीका जिल्ला अधिवेशनका सन्दर्भमा पार्टी केन्द्रले तयार गरेको परिपत्रका बारेमा समेत जानकारी गराउनुका भएको थियो ।