शहीद दिवसमा चार शहीदलाई वर्तमानदेखि पूर्वप्रधानमन्त्रीसम्मले यसरी सम्झिए
काठमाडौं, १६ माघ । आज माघ १६ गते अर्थात शहीद दिवस । आजको दिन विभिन्न राजनीतिक दल र ती दलका नेताहरुले शहीदहरुको सम्झना गरेका छन् । माघ १६ गते नेपाल र नेपालीहरूको आत्मसम्मान र स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान गर्ने शहिदहरूप्रति विशेष सम्मान र स्मरण गर्दै प्रधानमन्त्री, सभामुखसँगै पूर्वप्रधानमन्त्रीहरुले पनि सामाजिक सञ्जालमार्फत सन्देश दिएका छन् ।
‘युगलाई जहानियाँ राणा शासनको अँध्यारोबाट प्रजातन्त्रको उज्यालो दिन जीवन अर्पण गर्नु भएका अमर शहीद गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्रीलाई नमन,’ पूर्वप्रधानमन्त्री समेत रहनु भएका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले लेख्नुभएको छ,’ ‘शहीद दिवसको प्रेरणा नभुलौं, सबैलाई शुभकामना ।’
त्यसैगरी नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि शहीद दिवसको अवसरमा नेपालको हरेक राजीतिक र सामाजिक आन्दोलनमा ज्यानको आहुती दिने महान शहीदहरुप्रति उच्च सम्मान भन्दै हार्दिक श्रद्दासुमन व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि शहिद दिवस २०८० को यस सन्दर्भमा आफ्नो जीवन अर्पण गर्ने महान् शहीदहरूप्रति श्रद्धापूर्वक स्मरणका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु भन्नुभएको छ । उहाँले सम्पूर्ण बेपत्ता योद्धाहरूको उच्च सम्मानपूर्वक स्मरण गर्नुभएको छ । ‘घाइते योद्धाहरूको शीघ्र स्वास्थ्यलाभसहित दीर्घजीवनको कामना गर्दछु,’ उहाँले भन्नुभएको छ, ‘माघ १६ गते नेपाल र नेपालीहरूको आत्मसम्मान र स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान गर्ने शहिदहरूप्रति विशेष सम्मान र स्मरण गर्ने दिन हो । नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र समावेशी लोकतन्त्र स्थापनाका निम्ति महान् शहिदहरूले उच्च बलिदान गर्नुभएको छ । तसर्थ, राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहिदहरू विगत, वर्तमान र भविष्यका निम्ति हामी सबैका लागि प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहनेछन् ।’
पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि यसरी सम्झिनु भएको छ । ‘आज मिति १६ माघ २०८०, सहिद दिवसको दिन हो । आजकै दिन निरंकुश तानाशाही राणा शासनका विरुद्ध लोकतन्त्रको आवाजलाई बुलन्द बनाउँदै हाम्रा वीर सहिदहरु शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ, दशरथ चन्द र धर्मभक्त माथेमा लगायतले सहादत प्राप्त गर्नुभएको थियो । म सर्वप्रथम वीर अमर सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु,’ उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘वहाँहरु नै नेपालमा लोकतन्त्र, राष्ट्रियता र मानव अधिकारका आवाज घन्काउने प्रथम पंक्ति योद्धाहरु हुनुहुन्थ्यो । वहाँहरूको बलिदानले निरंकुश राणा शासनको जगलाई नै हल्लाइदियो । नेपाली जनतामा लोकतन्त्रको व्यापक जागरण पैदा गरिदियो । जसको परिणाम स्वरूप २००७ सालको क्रान्ति सम्पन्न भयो र नेपाल जनअधिकार र लोकतन्त्रको युग तिर प्रवेश गर्यो । तिनै वीर अमर सहिदहरूको समेत योगदानको परिणाम स्वरूप आज नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । हामीले तिनै वीर सहिदहरुबाट समेत निरन्तर प्रेरणा लिएर आजको लोकतन्त्रलाई अझ समृद्ध बनाउँदै नेपाली समाजलाई समाजवादको दिशातिर अघि बढाउनु आज हाम्रो सामु प्रमुख कार्यभार रहेको छ । अन्त्यमा, अमर सहिदहरु प्रति फेरि एकपटक हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।’
सभामुख देवराज घिमिरेले पनि नेपाली जनतालाई सार्वभौम र अधिकार सम्पन्न बनाउनका लागि चारजना वीर योद्धाहरुले आफ्नो जीवन आहुती दिएको दिन भन्दै शहीदहरुलाई सम्झिनु भएको छ । ‘नेपाली इतिहासमा कालरात्रीको रुपमा रहेको राणा शासनलाई अन्त्य गर्नका लागि आफ्नो जीवन आहुती दिनुहुने दशरथ चन्द,गंगालाल श्रेष्ठ,धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै उहाँहरुप्रति उच्च सम्मान प्रकट गर्दछु,’ उहाँले भन्नुभएको छ, ‘जहाँनिया राणा शासनको अन्त्य गरेर नेपाली जनतालाई स्वतन्त्रता र अधिकार प्राप्तीका लागि आफ्नो जीवन अपर्ण गरेका शहीदका सपना पुरा गर्ने अभिभारा हाम्रो काँधमा आएको छ । यो अभिभारा पुरा गर्न सबै राजनीतिक दलहरु एकतावद्ध भएर अघि बढ्नुको विकल्प छैन । दलहरुको एकतामा नै लोकतन्त्र बलियो हुने र यसका विरुद्ध हुने चलखेलहरु निष्तेज हुने कुरामा दुईमत छैन ।’
काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले शहीदहरूको सपना साक्षी राखी एकजुट भएर काम गर्ने बेला आइसकेको बताउनु भएको छ । मंगलवार काठमाडौंमा शहीद दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।