क्यानडामाथि नेपालको रोमाञ्चक जित, रोहित एक्लैले लिए ४ विकेट

काठमाडौं, २५ माघ । एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले क्यानडामाथि रोमाञ्चक जित हासिल गरेकाे छ । नेपालले क्यानडामाथि ७ रनको रोमाञ्चक जित हात पारेको हाे ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ‌ओभरमा अल आउट हुँदै २२४ रन बनाएको थियो ।

क्यानडाका निकोलश किर्टोन र पारगत सिंहले अर्धशतकीय पारी खेले पनि टिमलाई जिताउन सकेनन् । जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७.५ ओभरमा २१७ रनमा अल आउट भयो ।

 

नेपाललाई जिताउन रोहितकुमार पौडेलले ४ विकेट लिए । नेपालका लागि ओपनर कुशल भुर्तेलले ६२ रन बनाए । ५८ बल खेलेका उनले ९ चौका र १ छक्का हानेका थिए । आरिफ शेखले ३८ रन बनाए । सोमपाल कामी २७ रनमा आउट भए ।

किर्टोन ६८ रन बनाउँदै १९५ रनको स्थितिमा आउट भएपछि खेलमा नेपालको आशा फर्केको थियो । त्यसअघि सिंह ५० रनमा आउट भएका थिए । क्यानडाका उदय भागवानले ३ तथा इश्वरजित सोही र साद बिन जाफरले समान २ विकेट लिए ।