झापा महिला गोल्डकपमा आर्मीको १० गोलको जित : सेमिफाइनलमा प्रवेश
काठमाडौँ, मंसिर ६ । त्रिभुवन आर्मी फुटबल क्लबले भारतीय टोली गयेसपुर महिला फुटबल एकेडेमीलाई १०-० गोलको फराकिलो अन्तरले पराजित गर्दै दोस्रो झापा महिला गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । शिवसताक्षीस्थित दुधे रङ्गशालामा आइतबार भएको खेलमा आर्मीको जितमा चन्द्रा भण्डारी र हेमा चौधरीले ह्याट्रिक पूरा गर्नुभयो । सुक्रिया मियाले दुई तथा जेनिफर राना मगर र दीपा शाहीले एक-एक गोल गर्नुभयो ।
खेलको पाँचौँ मिनेटमै चन्द्राले गोल गर्दै आर्मीलाई अग्रता दिलाउनुभएको थियो । उहाँले १६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्नुभयो । त्यसको दुई मिनेटपछि हेमाले गोल गर्दै आर्मीको अग्रता बढाउनुभयो । सुक्रियाले ३३औँ मिनेटमा गोल गर्दा चन्द्राले ४३औँ मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गर्नुभयो ।
पहिलो हाफको ४४औँ मिनेटमा हेमाले हेडमार्फत गोल गर्नुभयो भने अतिरिक्त समयमा सुक्रियाले व्यक्तिगत दोस्रो गोल थप्नुभयो । दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै गोल गर्दै हेमाले पनि ह्याट्रिक पूरा गर्नुभयो ।
खेलको ७९औँ मिनेटमा जेनिफर राना मगर र ८९औँ मिनेटमा दीपा शाहीले गोल थपेपछि आर्मीले १०–० को शानदार जित दर्ता गर्यो ।
खेलमा उत्कृष्ट प्रदर्शन गर्नुभएकी चन्द्रा भण्डारी प्लेयर अफ द म्याच घोषित हुनुभयो । उहाँले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो । कतारमा रहनुभएका तेक्वान्दोका पूर्वराष्ट्रिय खेलाडी ज्याकी चानले पनि चन्द्रालाई प्रोत्साहनस्वरूप थप १५ हजार रुपैयाँ प्रदान गर्नुभएको थियो ।
यस जितसँगै आर्मी प्रतियोगिताको सेमिफाइनलमा पुग्ने दोस्रो टोली बनेको छ । यसअघि उद्घाटन खेलमा झापाकी सजिना स्याङताङले ह्याट्रिकसहित चार गोल गर्नुभएको थियो ।
प्रतियोगिताअन्तर्गत सोमबार हुने तेस्रो क्वाटरफाइनलमा सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब र भुटानको थिम्पू राभेन महिला फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, उत्कृष्ट खेलाडीलाई एक लाख ५० हजार तथा उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
