नेपाललाई वेस्ट इन्डिज ‘ए’ ले दियो २१० रनको लक्ष्य

काठमाडाैं, २० वैशाख । वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी चौथो टी-२० मा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ले ३ विकेटको क्षतिमा २०९ रन जोड्यो।

वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचर र जोनसन चार्ल्सले अर्धशतक प्रहार गरे। नटआउट रहेका फ्लेचरले ५४ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै ८४ रन जोडे। फाबियन एलनले १९ बलमा नटआउट ३३ रन बनाए।

वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले ५८ रन जोडेर आउट भए। दशौं ओभरको अन्तिम बलमा आउट हुनुअघि उनले ३० बलमा ३ चौका र ६ छक्का प्रहार गरे।

त्यसअघि दोस्रो ओभरमै ओपनर एलिक एथानाजलाई प्रतिश जिसीले सन्दीप जोराको हातबाट ५ रनमा आउट गरे।

बलिङमा नेपालका कुशल भुर्तेलले २ विकेट लिँदा प्रतिश जिसीले एक विकेट हात पारे।

पाँच खेलको सिरिजको तीन खेल सकिँदा वेस्ट इन्डिजले २-१ को अग्रता लिएको छ। पहिलो खेल नेपालले जित्दा दोस्रो र तेस्रो खेलमा वेस्ट इन्डिज विजयी भएको थियो।