दमौली आगलागी अपडेट : क्षतिको विवरण सङ्कलन गरिँदै
तनहुँ, ७ जेठ । तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भएको आगलागीको विवरण सङ्कलन सुरु गरिएको छ ।
गएराति १२ः४५ बजे फलफूल लाइनमा रहेका सटरमा आगलागी भएको थियो । उक्त आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन थालिएको प्रहरीले जनाएको छ ।
तनहुँ जलविद्युत् आयोजना, मुग्लिन पोखरा सडक आयोजना, व्यास नगरपालिकाको दमकलको सहायताले आगलागी तीन घण्टापछि नियन्त्रणमा आएको थियो । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका करिब २० वटा सटर जलेर नष्ट भएका छन् । यहाँ आइसक्रिम, फलफूल, मोबाइललगायत पसल सञ्चालनमा थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले क्षतिको यकीन विवरण आइनसकेको भन्दै विवरण सङ्कलन थालिएको बताउनुभयो । उहाँका अनुसार विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने अनुमान छ ।
यसैबीच पूर्वमन्त्री एवं सांसद कृष्णकुमार श्रेष्ठले आगलागीपीडितलाई राहतका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । फलफूल लाइनमा भएका अधिकांश पसल जलेर नष्ट भएको घटनाले अत्यन्तै दुःखी र मर्माहत बनाएको बताउँदै उहाँले घटनाको छानबिन गरी पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।