नमोबुद्ध जात्रामा बिहानैदेखि भक्तजनको घुइँचो, विशेष पूजाआजा जारी
बनेपा (काभ्रेपलाञ्चोक), ८ मङ्सिर। काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल नमोबुद्धमा परम्परागत जात्राको मुख्य दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। कात्तिक पूर्णिमाका अवसरमा यहाँ मेला तथा विशेष पूजाआजा भइरहेको छ।
जात्राको मुख्य दिन पूर्णिमाका अवसरमा दर्शन तथा पूजाआजाका लागि विभिन्न स्थानबाट भक्तजन नमोबुद्ध पुगेका छन्। नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाका अनुसार जात्राको पहिलो दिन सोमबार दिवङ्गत पितृको सम्झनामा रातभर दीप प्रज्ज्वलन गरिएको थियो।
नमोबुद्ध जात्रा राजकुमार महासत्वले भोकले छटपटाइरहेकी बघिनी र उनका पाँच डमरुको प्राण बचाउन आफ्नो शरीर अर्पण गरेको पौराणिक घटनाको स्मरणमा मनाउने परम्परा रहेको नगरप्रमुख कुन्साङ लामाले बताउनुभयो। उक्त घटनालाई त्याग, दया र करुणाको अनुपम उदाहरणका रूपमा लिने गरिएको उहाँको भनाइ छ।
कात्तिक पूर्णिमाको धार्मिक मेलालाई लक्षित गर्दै नगरपालिकाले आज स्थानीय बिदासमेत दिएको छ। जात्रामा सहभागी हुने भक्तजनको सहजता र सुरक्षालाई ध्यानमा राख्दै नगरपालिका, स्थानीय गुठी तथा सुरक्षा निकायको समन्वयमा आवश्यक व्यवस्थापन मिलाइएको छ।
धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्त्व बोकेको नमोबुद्धमा हरेक वर्ष कात्तिक पूर्णिमाका अवसरमा परम्परागत जात्रा तथा मेला आयोजना हुँदै आएको छ।
