विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणमा बागमती प्रदेशले ६ अर्ब खर्च गर्ने
ललितपुर, ८ मङ्सिर। बागमती प्रदेश सरकारले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणका लागि ६ अर्ब रुपैयाँ परिचालन गर्ने भएको छ। प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण, नागरिकको पुनःस्थापना र जीविकोपार्जनलाई प्राथमिकतामा राखेर बजेट परिचालन गरिने बताउनुभएको हो।
बागमती प्रदेशको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयले सोमबार ललितपुरमा आयोजना गरेको भोटेकोशी बाढीपछिको पुनर्निर्माण तथा पुनःस्थापनासम्बन्धी समन्वय बैठकमा मुख्यमन्त्री थापा मगरले विपद् प्रभावित क्षेत्रका लागि विभिन्न मन्त्रालयको बजेट पुनःव्यवस्थापन गरिएको जानकारी दिनुभयो।
उहाँका अनुसार प्रदेश विपद् कोषमा रहेको १० करोड पाँच लाख रुपैयाँ तत्काल खर्च हुने अवस्था भएपछि चालु आर्थिक वर्षको बजेटमा रहेका कम प्राथमिकताका विकास योजना कटौती गरेर प्रत्येक मन्त्रालयबाट १० देखि २० प्रतिशतसम्म बजेट व्यवस्थापन गरिएको छ।
“विभिन्न क्षेत्रका योजना कटौती गरी विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणका लागि प्रदेश सरकारले बजेट व्यवस्था गरेको छ,” उहाँले भन्नुभयो।
मुख्यमन्त्री थापा मगरले प्रभावित क्षेत्रमा सडक तथा पुल निर्माण, बस्ती व्यवस्थापन, व्यवसाय पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो। प्रभावित नागरिकका माग र आवश्यकताका आधारमा स्थानीय तहसँग समन्वय गरी योजनाबद्ध रूपमा बजेट कार्यान्वयन गरिने उहाँको भनाइ थियो।
गत भदौ १० गतेको बाढीपछि प्रदेश सरकारले तत्काल विपद् परिषद्को बैठक बसेर खोज तथा उद्धार, घाइतेको उपचार, राहत वितरण र वैकल्पिक सडक सञ्चालनका काम सुरु गरेको उहाँले स्मरण गर्नुभयो।
विपद् व्यवस्थापन तथा पुनर्निर्माणमा सङ्घ, प्रदेश र स्थानीय तहबीच साझा योजना र लक्ष्यका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले तीनै तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसके अपेक्षित उपलब्धि हासिल गर्न कठिन हुने बताउनुभयो।
प्रभावित नागरिकको पीडालाई प्रदेश सरकारले गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै मुख्यमन्त्री थापा मगरले सीमित स्रोतसाधनका बाबजुद उद्धार, राहत तथा व्यवस्थापनमा स्थानीय जनप्रतिनिधिले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो।
बैठकमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुर सिंह लामाले वास्तविक समस्या पहिचान गरी प्रभावित नागरिकको आवश्यकता सम्बोधन हुने गरी पुनर्निर्माण तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो।
विपद्पछिको पुनर्निर्माणमा ढिलाइ भए आगामी स्थानीय तह निर्वाचनका कारण प्रभावित क्षेत्रका समस्या ओझेलमा पर्न सक्ने उहाँको भनाइ थियो। उपलब्ध बजेटबाट तत्काल गर्न सकिने काम पहिचान गरी कार्यान्वयनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो।
प्रदेशका आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्री सरल सहयात्री पौडेलले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणलाई प्रभावकारी बनाउन परम्परागत कार्यान्वयन प्रणालीभन्दा फरक र परिणाममुखी कार्ययोजना आवश्यक रहेको बताउनुभयो।
उहाँले पुनःस्थापनाका कार्यक्रमलाई मानवीय सहायता, रोजगारी तथा जीविकोपार्जन, भौतिक पूर्वाधार र बस्ती व्यवस्थापनमा केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो। विपद्का कारण परिवारका सदस्य गुमाएका, व्यवसाय गुमाएका तथा आर्थिक रूपमा कमजोर बनेका नागरिकलाई लक्षित गरी मनोसामाजिक सहयोग, सीपमूलक तालिम र रोजगारीका कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको सुझाव थियो।
बैठकमा प्रदेशसभा सदस्य प्रभात तामाङ र रमेशकुमार महतसहित रसुवा तथा नुवाकोटका स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्षलगायत जनप्रतिनिधिले आ–आफ्नो क्षेत्रका समस्या, क्षतिको अवस्था र पुनर्निर्माणका आवश्यकताबारे जानकारी गराउनुभएको थियो।
