मैँचे डाँडामा सहिद पार्क निर्माण, पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य

कास्की, ८ मङ्सिर। कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानस्थित मैँचे डाँडामा विभिन्न कालखण्डका सहिदको स्मृतिमा सहिद पार्क निर्माण गरिएको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले पार्क निर्माणसँगै प्याराग्लाइडिङ प्रशिक्षण केन्द्रसमेत सञ्चालनमा ल्याइएको छ।

गण्डकी प्रदेश सरकारको रु १० लाख र स्थानीयवासीको रु एक लाख बराबरको जनश्रमदान गरी कुल रु ११ लाखको लागतमा माछापुच्छ्रे सहिद पार्क निर्माण सम्पन्न भएको वडाध्यक्ष नारायण पौडेलले जानकारी दिनुभयो। पार्कमा सहिद स्तम्भ, प्रतीक्षालय र प्रवेशद्वार निर्माण गरिएको छ भने आगन्तुकको सुविधाका लागि वरपर विश्रामस्थलसमेत बनाइएको छ।

पार्कमा माओवादी सशस्त्र सङ्घर्षका क्रममा कास्कीबाट सहिद भएका व्यक्तिदेखि राणाशासनविरोधी आन्दोलन, प्रजातान्त्रिक तथा वाम आन्दोलन, झापा आन्दोलन र जनआन्दोलनलगायत विभिन्न राजनीतिक तथा सामाजिक परिवर्तनका आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदहरूको विवरण समेटिएको छ।

समुद्री सतहबाट एक हजार ६८० मिटर उचाइमा रहेको मैँचे डाँडा प्राकृतिक दृश्यावलोकनका लागि आकर्षक गन्तव्य मानिन्छ। यहाँबाट पोखरा बजार, आसपासका डाँडाकाँडा तथा हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ।

पार्क निर्माणसँगै यस क्षेत्रमा पर्यटकीय गतिविधि बढ्ने अपेक्षा गरिएको वडाध्यक्ष पौडेलले बताउनुभयो। उहाँले प्राकृतिक सौन्दर्यले भरिएको मैँचे डाँडालाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पार्क निर्माणले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

“मैँचे डाँडा आफैँमा प्राकृतिक सुन्दरताले भरिएको स्थान हो। यहाँबाट पोखरा बजारसहित वरपरका डाँडाकाँडा र हिमालको राम्रो दृश्य देखिन्छ। पार्क निर्माणले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो।

मैँचे डाँडा विगतमा खुमई र कोर्चोङसम्मको पदयात्राका लागि प्रयोग हुने मार्गमा पर्दथ्यो। यहाँबाट ओदाने हुँदै खुमई जाने–आउने गरिए पनि पछिल्लो समय सरिपाखा र टुसे हुँदै खुमई पुग्ने पदमार्ग बढी प्रचलनमा आएपछि मैँचे डाँडामा पदयात्रा गर्ने पर्यटकको सङ्ख्या घटेको स्थानीय बताउँछन्।

स्थानीय देवीलाल लामिछानेका अनुसार विगतमा मैँचे डाँडा पशुचौपायाको चरन क्षेत्रका रूपमा परिचित थियो। त्यसबेला यहाँ भैँसीका गोठसमेत रहने गरेका थिए।

यस क्षेत्रमा हालै प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र पनि सञ्चालनमा ल्याइएको छ। पोखरास्थित एरोडाइनामिक प्याराग्लाइडिङ कम्पनीले दक्ष पाइलट उत्पादन गर्ने उद्देश्यले प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएपछि मैँचे डाँडामा नयाँ पर्यटकीय गतिविधि थपिएको हो।

स्थानीयवासीले सहिद पार्क, प्राकृतिक दृश्यावलोकन, ऐतिहासिक पदमार्ग र प्याराग्लाइडिङ प्रशिक्षण केन्द्रलाई एकीकृत गरी पर्यटन गतिविधि विस्तार गर्न सके यस क्षेत्रलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने अपेक्षा गरेका छन्।

पोखरा–बागलुङ राजमार्गअन्तर्गत हेमजाको मिलनचोक हुँदै लाहाचोकको पातीखोलाबाट मैँचे डाँडा पुग्न सकिन्छ। सडक पहुँच र प्राकृतिक आकर्षणलाई उपयोग गर्दै आवश्यक पर्यटकीय पूर्वाधार विकास गर्न सके यस क्षेत्रले स्थानीय पर्यटन र आर्थिक गतिविधिमा समेत योगदान पुर्‍याउने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *