बर्दियाका सामुदायिक तथा संस्थागत विद्यालयका बालबालिकामा हात्तीपाइले रोगको ‘ट्रान्समिशन’ परीक्षण सुरु
बर्दिया, १७ भदौ । बर्दियाका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा १ र २ मा अध्ययनरत बालबालिकामा राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत ‘ट्रान्समिशन एसिसमेन्ट सर्भे’ (टास) सुरु गरिएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले तोकेका विद्यालयमा हात्तीपाइले रोगको दोस्रो चरणको ट्रान्समिशन सर्भे सुरु गरिएको हो । कक्षा १ र २ मा अध्ययनरत ६ देखि ७ वर्षका बालबालिकामा हात्तीपाइले रोगको ट्रान्समिशन परीक्षण सुरु गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र मकवानपुरका ल्याब निरीक्षक राजकुमार इटनीले बताउनुभयो ।
नयाँ सङ्क्रमण जाच्न बालबालिकाको सो उमेर समूह उपयुक्त मानिएको छ । बर्दियामा तीन सय ७३ विद्यालयका १८ हजार नौ सय ५० विद्यार्थीमध्ये ३७ विद्यालयका एक हजार पाँच सय ५२ विद्यार्थीहरुको नमूना परीक्षण गरिनेछ ।
उहाँका अनुसार रक्त नमूना जाँचका क्रममा पोजिटिभ देखिएका विद्यार्थीहरुको सङ्ख्या ‘एसएसबी’ ले दिएको ‘स्टाब्लिज्ड क्रिटिकल कट अफ’ १८ भन्दा कम भएमा टास सर्भे सफल भएको मानिन्छ । यदी १८ भन्दा बढी भएमा असफल मानिन्छ । असफल भएमा के गर्ने भन्ने विषयमा विज्ञहरुको सुझाव लिइन्छ । सर्भे फिल्डमा एक जनाले विद्यार्थीहरुको लाइनअनुसार नाम दर्ता र परामर्श दिने, एक जनाले नमूना सङ्कलन गर्ने र एक जनाले प्राप्त नमूनाको अभिलेख अद्यावधिक गर्ने गरी तीन जना खटिएका छन् ।
सन् २०२२ को तथ्याङ्कअनुसार दक्षिण पूर्वी एशियामा ५४ प्रतिशत हात्तीपाइले रोगको भार रहेको छ । जसमध्ये ४० प्रतिशत भारतमा छ । नेपालमा हात्तीपाइलेको जोखिममा ६४ जिल्ला छन् । क्युलेक्स जातको सङ्क्रमित पोथी लामखुट्टेले मानिसलाई टोकेर ‘वुचेरिया ब्रानक्रोफ्टी’ नामक परिजीवी शरीरमा प्रवेश गरेपछि हात्तीपाइले रोग लाग्ने स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताउनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार बर्दियामा हात्तीपाइले रोग निवारण अभियानअन्तर्गत १० वर्ष औषधि खुवाइएको छ ।