लेक लागेर मृत्यु हुने पर्यटकको सङ्ख्या बढ्दो
काठमाडाैं, १८ भदौ । पदयात्रा र तीर्थयात्राका लागि गत वर्ष हिमालपारि मुस्ताङ तथा मनाङ गएका २१ पर्यटक उतै अस्ताए । छ नेपालीसहित ११ भारतीय, मलेसियाका दुई, युक्रेनका एक र एक बेलायती नागरिकले यात्राका क्रममा लेक लागेर मृत्युवरण गरे । अधिकांश लेक लागेका घटना मुस्ताङको मुक्तिनाथ क्षेत्रमा भएका थिए ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आव २०७८/७९ मा छजनाको लेक लागेर मृत्यु भएकामा आव २०७९/८० मा १२ जनाको लेक लागेर मृत्यु भएको थियो । कार्यालयका प्रहरी निरीक्षक विशाल अधिकारीका अनुसार गत आवमा १४ जनाले लेक लागेर मुस्ताङमा ज्यान गुमाए । लेक लागेर मृत्यु हुनेमा प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्री बढी छन् ।
चौधमध्ये दश भारतीय, तीन नेपाली र एक युक्रेनी नागरिक रहेको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो । “मुस्ताङमा लेक लागेर मृत्यु हुनेको सङ्ख्या बर्सेनि बढ्दै गएको देखिन्छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय मुक्तिनाथमा लेक लागेका पर्यटकको प्रारम्भिक उपचार र उद्धारका लागि आकस्मिक कक्षसमेत सञ्चालनमा आएको छ ।”
पर्यटक पथप्रदर्शक दिवस गुरुङले भारतीय पर्यटक गाडीबाट एकैपटकमा मुक्तिनाथ पुग्दा लेक लाग्ने समस्या देखिने गरेको बताउनुभयो । “हिमाली भेगको यात्रामा जाँदा विश्राम लिँदै जानुपर्छ, कम उचाइ भएको ठाउँबाट उचाइ भएको ठाउँमा एक्कासि पुग्दा लेक लाग्ने हुन्छ”, उहाँले भन्नुभयो, “यो समस्या मुस्ताङको मुक्तिनाथ र मनाङको तिलिचो ताल जाने पर्यटकमा बढी देखिने गरेको छ ।”
काठमाडौँ उपत्यकालगायत तराई भेगबाट तिलिचो ताल पुग्ने नेपालीमा पनि लेक लाग्ने समस्या बढी देखिने गरेको पथप्रदर्शक गुरुङले बताउनुभयो । “पदयात्रा गर्नेहरु ठाउँठाउँमा विश्राम लिँदै जाने हुँदा लेक लाग्ने सम्भावना न्यून हुन्छ, गाडी र मोटरसाइकलमा एकैपटकमा उचाइमा जानेहरुलाई बढी समस्या देखिने गरेको छ”, उहाँले भन्नुभयो ।
मुक्तिनाथ समुद्र सतहदेखि तीन हजार सात सय १० मिटर र तिलिचो ताल चार हजार नौ सय १९ मिटरको उचाइमा अवस्थित छ । स्थानीय हावापानीसँग अनुकूलन हुँदै विश्राम लिँदै यात्रा गर्नु नै लेक लाग्ने समस्याबाट बच्ने उत्तम उपाय रहेको पथप्रदर्शक गुरुङको भनाइ छ । उहाँले पदयात्रा गर्ने पर्यटकलाई एक दिनमा पाँच सयभन्दा बढीको उचाइ पार नगर्न सुझाउनुभयो । शारीरिक, मानिसक स्वास्थ्य र तन्दुरुस्तीसहित पदयात्रामा जानुपर्ने पथप्रदर्शक गुरुङले बताउनुभयो । नयाँ र टाढाको गन्तव्यस्थल छभने एक्लै पदयात्रा गर्न नहुने उहाँको भनाइ छ ।
पदयात्रामा जाँदा प्राथमिक उपचारका औषधि र सामग्री साथमा बोक्नुपर्ने गुरुङले बताउनुभयो । कतिपयलाई तीन हजार मिटरदेखि नै ‘अल्टिच्युड सिकनेस’को लक्षण देखिने हुँदा एकै दिन धेरै नहिँडी विश्राम लिँदै पदयात्रा गर्नुपर्ने उहाँको भनाइ छ ।
धवलागिरि अस्पतालका प्रमुख चिकित्सक रविरञ्जन प्रधानले लेक लाग्दा अक्सिजनको मात्रा घट्न गई मानिसको ज्यान जाने गरेको बताउनुभयो । “लेक लाग्दा शरीरमा अक्सिनको कमी भई टाउको र फोक्सोमा पानी जमेर बिरामीको मृत्यु हुन्छ”, उहाँले भन्नुभयो, “लेक लाग्नबाट जोगिन लक्षण देखिँदासाथ यात्रा रोकेर तुरुन्त कम उचाइ भएको ठाउँमा फर्कनुपर्छ ।” लेक लाग्दा टाउको भारी हुने, वाकवाकी लाग्ने, बान्ता हुने आदि लक्षण देखिने गरेको प्रमुख चिकित्सक प्रधानको भनाइ छ ।
लेक लागेर मात्र नभई अन्य घटनाबाट पनि विदेशी पर्यटकले ज्यान गुमाउने गरेका छन् । गत असोजमा डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत मनाङको नासोँ गाउँपालिका–३ खोत्रोमा भिरबाट लडेर ६९ वर्षीय अमेरिकी नागरिक चाल्र्स केथ डेविसको मृत्यु भएको थियो । गत वर्ष नै नार्पाभूमि गाउँपालिका–२ मेतास्थित जम्बाला गेष्ट हाउस एन्ड रेष्टुराँमा सुतेकै अवस्थामा बेलायतका टेरेन्स ब्राडी मृतावस्थामा फेला परेको ‘एक्याप’ले जनाएको छ ।
मनाङको वातावरण र मौसमको जोखिमलाई बेवास्ता गर्दा पर्यटक तथा पथप्रदर्शकले ज्यान गुमाउने गरेका ‘एक्याप’को इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले बताउनुभयो । उहाँले भन्नुभयो, झन्डै पाँच हजार मिटर उचाइमा रहेको तिलिचो ताल र पाँच हजार चार सय १६ मिटर उचाइमा रहेको थोरङ भञ्ज्याङ पार गर्नु जो कोहीका लागि सहज नभएको उहाँको भनाइ छ । पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले हिमाली क्षेत्रको मौसमको अनुकूलतालाई ध्यान नदिँदा पनि कतिपय पर्यटकहरु समस्यामा पर्ने गरेको बताउनुभयो ।
न्यून चापीय क्षेत्रबाट उच्च स्थानमा पुग्दा हुने स्वास्थ्य समस्याबारे पर्यटक र यससम्बद्ध सङ्घसंस्था सजग रहनुपर्छ । “मौसमलाई ध्यान दिएर यहाँको वातावरणमा घुलमिल हुँदै आउँदा लेक लाग्ने समस्याबाट बच्न सकिन्छ”, अध्यक्ष गुरुङले भन्नुभयो ।