नेपालकै पहिलो साक्षर सिन्धुपाल्चोक जिल्लामा ७७ हजार निरक्षर

सिन्धुपाल्चोक । देशकै पहिलो साक्षर जिल्ला सिन्धुपाल्चोकमा साक्षरता दर घट्दो क्रममा रहेको छ। राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार सिन्धुपाल्चोकको साक्षरता दर ६८ प्रतिशत मात्रै छ।

५ वर्ष वा सोभन्दा माथिका कुल २ लाख ४३ हजार ७ सय ५५ जनसंख्या मध्ये ३१ दशमलव ६ प्रतिशत जनसंख्या निरक्षर छन्। ४७ हजार ९ सय ७३ महिला र २९ हजार १ सय ६१ पुरुष गरी कुल ७७ हजार १ सय ३४ जना नागरिकहरू पढ्न र लेख्न नजान्ने जनगणनाको तथ्यांकले देखाएको छ। पढ्न र लेख्न दुवै जानेको संख्या ६८ प्रतिशत अर्थात १ लाख ६५ हजार ८ सय ५४ मात्रै रहेको तथ्यांकमा उल्लेख छ। जसमध्ये महिलाको संख्या ७६ हजार १ सय ३ रहेको छ भने पुरुषको संख्या ८९ हजार ७ सय ५१ रहेको छ। कुल जनसंख्याको शून्य दशलमव तीन प्रतिशत अर्थात ७ सय ६७ जना सामान्य पढ्न मात्रै सक्छन्।

२०७१ असार २ गते सिन्धुपाल्चोकलाई देशकै पहिलो साक्षर जिल्लाको रूपमा घोषणा गरिएको थियो। ५ वर्ष माथिको पढ्ने उमेर समूहका ९७ दशमलव ६२ प्रतिशत नागरिक साक्षर भएको दाबी गर्दै तत्कालीन शिक्षा कार्यालय सिन्धुपाल्चोकले मुलुककै पहिलो साक्षर जिल्ला घोषणा गरेको थियो। अनौपचारिक शिक्षा केन्द्रका तत्कालीन निर्देशक बाबुराम पौडेल, स्थानीय राजनीतिक दल, सञ्चारकर्मी र सरोकारवालाबीच धुमधामका साथ साक्षर जिल्ला घोषणा गरिएको थियो।

‘त्यो बेला अनौपचारिक शिक्षा केन्द्रको नियमअनुसार हामीले सिन्धुपाल्चोकलाई पहिलो साक्षर जिल्ला घोषणा गरेका थियौं’, तत्कालीन जिल्ला शिक्षा अधिकारी गेहनाथ गौतम भन्छन्– ‘साक्षर जिल्ला बनाउन जिल्लाभर सञ्चालन गरिएको साक्षरता कक्षामा सहभागीले मोबाइल, क्यालकुलेटर चलाउन सक्ने, १ देखि ९ सम्मका अंक लेख्न तथा १ देखि सयसम्म गणना गर्न, सामान्य लेखपढ गर्न सक्ने नसक्ने जाँच गरी मूल्यांकन गरी अनौपचारिक शिक्षा केन्द्रमा पेश गरेका थियौं। हाम्रो साक्षर जिल्लाको अनुगमन गरेर केन्द्रले २०७१ असार २ गते सिन्धुपाल्चोकलाई देशकै पहिलो साक्षर जिल्ला घोषणा गरेको थियो।’

२०७१ सालमा २ दशमलव ३२ प्रतिशत निरक्षर रहेको सिन्धुपाल्चोकमा अहिले ३१ दशमलव ६ प्रतिशत निरक्षर हुनु भनेको शिक्षा क्षेत्रमा सरकारले चासो कम दिनु रहेको शिक्षा क्षेत्रमा ३० वर्षदेखि कार्यरत चौतारा बहुमुखी क्याम्पसका प्राचार्य नगेन्द्रप्रसाद दंगाल बताउँछन्। ‘एक त यहाँ पढ्नुपर्छ भन्ने सोच नै कमजोर भएको छ, छोराछोरीलाई पढाउने भन्दा पनि विदेश पठाउनेतिर अधिकांशको मनोविज्ञान छ’, उनी भन्छन्– ‘अर्कोतर्फ स्थानीय सरकारले पनि शिक्षामा भन्दा विकास निर्माणमा प्राथमिकता दिने गरेको कारण पनि विद्यालय नजाने र बीचैमा पढाइ छाड्ने दर बढ्दो छ।’

प्रत्येक वर्षको परीक्षा नतिजा हेर्दा पछिल्लो चरणमा जिल्लाको शैक्षिक अवस्था दिनप्रतिदिन खस्कँदै गएको तथ्यांक शिक्षा विकास तथा समन्वय इकाइ सिन्धुपाल्चोकसँग छ। माध्यमिक शिक्षा परीक्षा ९एसईई० २०८० को तथ्यांक हेर्ने हो भने पनि सिन्धुपाल्चोकका सामुदायिक विद्यालयको नतिजा खस्कदै गएको शिक्षा विकास तथा समन्वय इकाइका सूचना अधिकारी प्रकाश रानाभाट बताउँछन्। उनका अनुसार सो परीक्षामा सम्मिलित ३ हजार ६ सय ९४ परीक्षार्थी मध्ये १ हजार ९ सय ६३ जनाले एनजी अर्थात नन ग्रेड अंक ल्याए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *