प्रधानमन्त्रीको अमेरिका भ्रमणः को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता
काठमाडौँ, ६ असोज । संयुक्त राष्ट्रसङ्घको महासभाको ७९औँ अधिवेशनमा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारदेखि उच्चस्तरीय भेटवार्ता सुरु गर्नुभएको छ ।
उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ४ गते त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
सोही क्रममा शनिबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।
उक्त अवसरमा प्रधानमन्त्री ओलीले केही समयअघि नेपाल भ्रमण गर्नुभएकामा महासचिव गुटेरेसप्रति कृतज्ञता व्यक्त गर्दै नेपालले जलवायु न्याय पाउनुपर्ने र यसमा पहलका लागि आग्रह गर्नुभएको थियो ।
त्यस्तै महासचिव गुटेरेसले नेपालमा हिमालहरू पग्लिने र त्यसबाट हुने क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय समुदायसमक्ष आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
त्यसअघि प्रधानमन्त्री ओलीसँग राष्ट्रसङ्घको अल्पविकसित, भूपरिवेष्टित, विकासोन्मुख र साना टापु मुलुकका लागि प्रतिनिधिसमेत रहनुभएका उपमहासचिव रबाब फतिमाले नेपाली नियोगको कार्यालयमा भेट गर्नुभएको थियो ।
आजै ‘द समिट अफ द फ्युचर’को एक सत्रमा प्रधानमन्त्री ओलीले सहअध्यक्षता गर्नुका साथै प्लेनरी सत्रमा सम्बोधन गर्ने तालिका छ । प्रधानमन्त्री ओलीसँग आजै संयुक्त राष्ट्रसङ्घको मानव अधिकार आयुक्तले पनि शिष्टाचार भेट गर्दै हुनुहुन्छ ।
यसैगरी भुटानका प्रधानमन्त्री डाशो छिरिङ तोग्बेसँग द्विपक्षीय बैठक हुने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसपछि प्रधानमन्त्री ओली र कुवेतका युवराज शेख सबाह अल–खालेद अल–हमद अल–मुबारक अल–सबाहसँग द्विपक्षीय बैठक हुनेछ ।
आजै प्रधानमन्त्री ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता हुने तालिका छ । उहाँहरुको भेटलाई महत्वका साथ हेरिएको छ ।
गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीको यो पहिलो विदेश भ्रमण हो । उक्त भेटमा नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल हुने बताइएको छ ।
आइतबार नै प्रधानमन्त्री ओलीले नेपाली समुदायसँग अन्तरक्रिया गर्नुहुनेछ र सोही अवसरमा आयोजित रात्रिभोजमा सरिक हुनुहुनेछ ।
भोलि सोमबार प्रधानमन्त्री ओलीले युनिसेफ भवनमा हुने ‘लिड–फ्रि फयुचर, पाटर्नरसिप लञ्च’कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ । सोही दिन उहाँले कोलम्बिया विश्वविद्यालयमा आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’को कार्यक्रममा मुख्यवक्ताका रुपमा सम्बोधन गर्नुका साथै नेपाली विद्यार्थीसँग अन्तरक्रिया गर्नुहुनेछ ।
मङ्गलबार विहान प्रधानमन्त्री ओली महासभाको छलफलमा सहभागी हुनुहुनेछ । सोही दिन दिउँसो नेपालको स्थायी नियोगको कार्यालयमा उहाँ र युएसएआइडीका प्रशासक सामान्थ पावरबीच भेटवार्ता हुनेछ ।
सोही दिन नै प्रधानमन्त्री ओली र युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिचेलसँग, सामोअका प्रधानमन्त्री फिमे नाओमीसँग तथा फिनल्याण्डको राष्ट्रपति र प्रधानमन्त्रीसँग छुट्टाछट्टै द्विपक्षीय भेटवार्ता हुने तालिका छ ।
बुधबार प्रधानमन्त्री ओली र एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटबीच शिष्टाचार भेट हुनेछ । उहाँले ‘समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा’ विषयक समूहगत उच्चस्तरीय बैठकलाई सम्बोधन गर्नुहुनेछ ।
सोही क्रममा प्रधानमन्त्री ओली र बङ्गलादेशका प्रमुख सल्लाहकारबीच द्विपक्षयी भेटवार्ता हुनेछ । प्रधानमन्त्री ओली बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुहुने स्वागत समारोहमा सहभागी हुनुहुनेछ ।
बिहीबार प्रधानमन्त्री ओली र कतारका प्रधानमन्त्री, पाकिस्तानका प्रधानमन्त्री तथा लाओसका प्रधानमन्त्रीबीच छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता हुनेछ । सोही दिन प्रधानमन्त्री ओली र महासभाका अध्यक्ष फिलिमेन याङबीच बैठक हुनेछ भने प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घ महासभामा विशेष सम्बोधन गर्नुहुने तालिका छ ।
असोज ११ गते शुक्रबार प्रधानमन्त्री ओलीले हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्यः सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयक कार्यक्रमलाई सम्बोधन गर्नुहुने तालिका छ । त्यस्तैगरी उहाँ वासिङ्टनस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनुहुनेछ ।
प्रधानमन्त्री ओली यही असोज १४ गते स्वदेश फर्कनुहुने तालिका छ ।