परराष्ट्रमन्त्री डा राणाद्वारा विभिन्न देशका विदेशमन्त्रीसँग भेटवार्ता
काठमाडौँ, ७ असोज । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुने क्रममा परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले न्युयोर्कमा विभिन्न देशका विदेशमन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ ।
मन्त्री डा राणाले आइतबार इन्डोनेसियाका विदेशमन्त्री रेट्नो एलपी मर्सुदीसँग द्विपक्षीय भेटवार्ता गर्नुका साथै एक सम्झौतापत्रमा हस्ताक्षर पनि गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
सो भेटमा नेपाल र इन्डोनेसियाबीचका द्विपक्षीय हितका विविध विषयका साथै आगामी दिनमा आपसी सम्बन्धको विस्तार, विकासमा साझेदारीको पहल, जलवायु परिवर्तनको असर कमगर्न आपसमा हुनसक्ने सहयोग र सहकार्य जस्ता विषयमा कुराकानी भएको थियो ।
यसैगरी उहाँहरुबीच नेपाल र इन्डोनेसियाबीच पर्यटन प्रवद्र्धनका क्षेत्रमा हुनसक्ने आपसी सहकार्य र लगानीका विषयमा पनि कुराकानी भएको थियो ।
त्यसअवसरमा नेपाल र इण्डोनेशियाबीच कूटनीतिक तथा कामकाजी सरकारी पासपोर्ट वाहकका लागि दुवैतर्फको भिसा निःशुल्क गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो ।
त्यसैगरी मन्त्री डा राणाले हिजो नै बुरुन्डीका विदेशमन्त्री अल्बर्ट सिङ्गिरोसँग पनि द्विपक्षीय भेटवार्ता गर्नुभयो । त्यस अवसरमा उहाँहरुबीच आपसी सम्बन्ध र द्विपक्षीय हितका साथै आगामी दिनमा गर्न सकिने सहकार्यका बारेमा कुराकानी भएको थियो ।
त्यस्तै आइतबार नै परराष्ट्रमन्त्री डा राणा र फिनल्याण्डका वैदेशिक व्यापार तथा विकाससम्बन्धी मन्त्री भिल्ली ताभिओबीच पनि न्युयोर्कमा भेटवार्ता भएको थियो ।
उक्त भेटका अवसरमा मन्त्री राणाले विगत ५० वर्षदेखि नेपाल र फिनल्याण्डबीच रही आएको मैत्रीपूर्ण र आत्मीय सम्बन्ध तथा सहकार्यको चर्चा गर्दै नेपालको आर्थिक सामाजिक क्षेत्रमा फिनल्याण्डले पुर्याउँदै आएको सहयोगको सराहना गर्नुभएको थियो ।
भेटमा दुई देशबीचका द्विपक्षीय हितका विविध विषयहरुका साथै आगामी दिनमा गर्न सकिने आपसी सहयोग र साझेदारीबारे पनि कुराकानी भएको थियो ।