आज घटस्थापना, घरघरमा जमरा राखेर मनाइदैं

काठमाडाैं, १७ असाेज । आज घटस्थापना, हिन्दु धर्मावलम्वीहरूले घरघरमा जमरा राखेर मनाइदैं छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरूको महान् पर्व बडादसैं बिहीबारदेखि सुरू भएको हाे ।

बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैं घरमा विधिपूर्पक राखेर त्यसमाथि जौ (यव) रोप्ने गरिन्छ। यसलाई जमरा राख्ने पनि भनिन्छ ।

यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ। आजैदेखि दसैं घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आवाहन गरी पूजा आरम्भ गरिन्छ।

जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यो रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ।

घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ ।

आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना भन्ने गरिएको हो। आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गरिन्छ। आज घटस्थापनाको साइत बिहान ९ बजेर १६ मनेटमा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *