ताप्लेजुङमा स्थानीय पहिचान पक्षधर र केवलकार निर्माण मजदुरबीच झडप

ताप्लेजुङ, २३ कात्तिक । ताप्लेजुङमा स्थानीय पहिचान पक्षधर र केवलकार निर्माण मजदुरबीच झडप भएकाे छ ।

फुङ्लिङ नगरपालिका- १० काफ्लेपाटीस्थित पाथीभरा दर्शन केबलकारको निर्माणका लागि शिलान्यास गर्ने कार्यक्रममा स्थानीय पहिचान पक्षधरले अवरोध गरेपछि झडप भएको हो ।

पाथीभरा दर्शन केवलकार निर्माणको आज शिलान्यास गर्ने कार्यक्रम थियो । प्रहरीका अनुसार निर्माणका लागि आवश्यक पर्ने इक्युपमेन्ट लैजान अवरोध पुर्याएपछि मजदुरहरु प्रतिकारमा उत्रिएका थिए ।

मजदुरहरु प्रतिकारमा उत्रिएपछि दोहोरो झडप भएको प्रहरीले जनाएको छ । पाथीभरामा केवलकार निर्माण गर्न नहुने भन्दै लामो समयदेखि पहिचान पक्षधरहरु आन्दोलित हुँदै आएका छन् । पहिचान पक्षधरहरुले पाथीभरामा केवलकार निर्माण भए प्रकृति नष्ट हुने बताउँदै आएका छन् ।

ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरमा तीर्थयात्री जान सहज बनाउन केबलकार निर्माणको शुक्रबार शिलान्यास गरिएको छ ।