पर्सामा दश हजार किशोरीलाई आत्मरक्षा सम्बन्धी तालिम दिइने
पर्सा, २७ कात्तिक । वीरगञ्ज महानगरपालिकाले दश हजार बढी किशोरीलाई आत्मरक्षा सम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ ।
किशोरीहरु माथी हुने हिंसाजन्य गतिविधि न्यूनीकरण गर्दै उनीहरुको आत्मबल अभिवृद्धि गर्न महानगरले तालिम सञ्चालन गर्न लागेको हो ।
‘‘महानगरमा बस्ने किशोरीहरु ढुक्ककासाथ जुनसुकै बेला हिँडडुल गर्न सकुन् । कुनै प्रकारको आत्मविश्वासको कमी नहोस् भनेर आत्मरक्षा तालिम दिन लागेका हौँ,’’ वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले भन्नुभयो, ‘‘महानगरमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्राहरुलाई लक्षित गरी तालिम सञ्चालन गरिने छ ।’’
महानगरका अनुसार महानगरभित्रका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीसहित अन्य किशोरी तालिममा सहभागी गराइने छ । भोलि बुधबार वीरगञ्जको आर्दशनगरस्थित रङ्गशालामा करिब १२ हजार बढी किशोरी तथा महिलाहरुलाई आत्मरक्षाको तालिम सञ्चालन गर्ने तयारी छ ।
वीरगञ्ज महानगरका उपप्रमुख इम्तियाज आलमले तालिमले किशोरीलाई आत्मरक्षा गर्न सिकाउने बताउनुभयो । भारतका ख्यातिप्राप्त मार्सल आर्ट प्रशिक्षक चिता राजनेश शेट्टिसहितको टिमले प्रशिक्षण दिने कार्यक्रम छ ।