महिला मृत्युदर घटाउन आगामी माघ २२ गतेदेखि देशैभर निशुल्क ‘एचपीभी’ खोप

काठमाडौँ, ३ मङ्सिर । सरकारले आगामी माघ २२ गतेदेखि देशैभर पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको ‘एचपीभी खोप’ निःशुल्क दिइने भएको छ ।

पछिल्लो समय पाठेघरको मुखमा हुने क्यान्सरका कारण अकालमा मृत्यु हुनेको सङ्ख्या बढ्दो छ । उक्त जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले विश्व क्यान्सर दिवस (फेब्रुअरी ४) को सन्दर्भ पारेर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको जानकारी दिनुभयो । उहाँका अनुसार १६ लाख ८८ हजार सात सय ६८ किशोरीलाई खोप दिइने लक्ष्य छ ।

उहाँले भन्नुभयो, “१७ लाख किशोरीहरुलाई खोप लगाउने अनुमान गरेका छौँ । सम्पूर्ण विद्यालय र स्वास्थ्य केन्द्रहरु खोप केन्द्रको रुपमा प्रयोग हुने छन् । यो खोप लगाएपछि ९० देखि ९५ प्रतिशत सम्म पाठेघरको मुखमा हुने क्यान्सरबाट सुरक्षित बनाउँछ ।”

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख डा अभियान गौतमका अनुसार १८ हजार नौ सय विद्यालयमा खोप केन्द्र र आठ हजार दुई सय अन्य खोप केन्द्र रहनेछन् भने २७ हजार ८० जना स्वास्थ्यकर्मीहरु परिचालित हुनेछन् । उक्त अभियानमा ५४ हजार एक सय ६० जना स्वयंसेवक खटाइनेछन् । १५ हजार छ सय ७४ सुपरिवेक्षकहरु संलग्न हुनेछन् ।

उहाँले भन्नुभयो, “यो विद्यालय केन्द्रित खोप अभियान हो । माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकै पटक सञ्चालन गर्ने तयारीमा छौँ ।”

नेपालमा प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु भइरहेको तथ्याङ्क छ । ‘ग्लोबल क्यान्सर अब्जरभेटरी २०२२’ का अनुसार हरेक वर्ष नेपालमा दुई हजार एक सय ६९ जना महिलामा यस्तो क्यान्सर हुने अनुमान गरिएको छ । हरेक वर्ष एक हजार तीन सय १३ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने र औसतमा प्रत्येक दिन चार जना महिलाको यो क्यान्सरबाट मृत्यु हुने अनुमान छ ।

पाठेघरको मुखको क्यान्सर निवारणलाई सरकारले प्राथमिकतामा राख्दै आएको छ । नीति तथा कार्यक्रममा यो विषय समावेश गरी तीन पटक घोषणा गरिसकेको छ । राष्ट्रिय खोप कार्यक्रममा एचपीभीलाई समावेश गर्न सरकारले आव २०७२/७३ र २०७३/७४ मा ‘ग्लोबल अलाएन्स फर भ्याकसिन्स एण्ड इम्युनिजेसन’ (गाभी) को सहयोगमा अध्ययनस्वरूप कास्की र चितवनमा सफलतापूर्वक ‘पाइलट कार्यक्रम’ सञ्चालन गरिसकेको छ । आव २०८०/८१ मा ‘डेमोन्स्ट्रेसन’ को रुपमा हरेक प्रदेशको १–१ वटा अस्पतालमा १० हजार किशोरीलाई यो खोपको दुई मात्रा दिइ सकिएको छ ।

खोप शाखाले खोप सेवा सञ्चालन निर्देशिकामा आव २०८१/८२ स्वीकृत गरी खोप अभियान सञ्चालन र नियमित खोप सेवा सञ्चालनको तयारीमा गरेको छ । खोप शाखा प्रमुख डा गौतमले खोप यही पुसको मध्य सम्ममा आइपुग्ने बताउनुभयो । उहाँका अनुसार खोप गाभी र नेपाल सरकारको संयुक्त सहकार्यमा आइरहेको छ । “अर्को वर्षदेखि माघ वा फागुनतिर हरेक वर्ष यसरी नै खोप दिइनेछ । यसअघि दुई मात्राको खोप दिएका थियौँ । यो पटक एक मात्राको खोप लगाए पुग्ने छ”, उहाँले भन्नुभयो । यो अभियानका लागि १७ लाख ७० हजार २० मात्रा खोप छिट्टै आइपुग्ने उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *