एनपिएल

चितवन राइनोजले कर्णालीलाई दियो एक सय ३१ रनको लक्ष्य

काठमाडौँ, २१ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई एक सय ३१ रनको लक्ष्य दिएकाे छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३० रन बनाएको हो ।

चितवनका लागि रवि बोपारा अविजित रहँदै अर्धशतकीय पारी खेले । उनले ४० बलमा एक छक्का र सात चौकाको मद्दतले ५९ रन बनाए । कप्तान कुशल मल्लले २३, विपीन रावलले ११, जान निकोल लोफ्टी इटन र अमर रौतेलाले समान नौ÷नौ र दीपक बोहोराले आठ रनको योगदान दिए ।

शरद भेषावकरले अविजित रहँदै छ रन जोडे भने सोहेल तनवीर शून्य रनमा आउट हुन पुगे । चितवनले अतिरिक्त पाँच रन प्राप्त गर्यो । कर्णाली याक्सका लागि विपीन शर्माले सर्वाधिक तीन विकेट लिए । कर्णालीका जिशान मकसूदले दुई, नन्दन यादव र कप्तान सोमपाल कामीले एक/एक विकेट हात पारे ।