अन्नपूर्ण फेरोका २७ गाउँमा घरबास
गण्डकी, २३ मङ्सिर । पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण फेरोका २७ गाउँमा घरबास (होमस्टे) व्यवसाय सञ्चालनमा छ । बर्सेनि ठूलो सङ्ख्यामा देशविदेशका पर्यटकलाई ती घरबासले न्यानो आतिथ्यता प्रदान गर्दै आएका छन् । चित्रमय भूगोल, गाउँले रहनसहन, रैथाने खाना र आत्मीय आतिथ्य संस्कार घरबासका विशेषता हुन् ।
हिमाली काखमा सजिएका ती घरबास गाउँ पर्यटकीय याममा आगन्तुकले भरिभराउ हुन्छन् । त्यहाँ पुग्ने जोकोहीले जैविक विविधता, हिमाली जनजीवन, सभ्यता र संस्कृतिको पनि आनन्द बटुल्न पाउँछन् । कोही पदयात्रा र कोही सडकमार्ग भएर घरबास गाउँ पुग्छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार उक्त क्षेत्रका चार सयभन्दा बढी घरले घरबास सेवा दिइरहेका छन् । कतिपय घरबास एकल रुपमा पनि चलिरहेका छन् ।
दैनिक झण्डै दुई हजारभन्दा बढी पाहुना राख्न सक्ने क्षमता ती घरबासमा रहेको आयोजना प्रमुख डा रविन कडरियाले जानकारी दिनुभयो । उहाँका अनुसार ‘एक्याप’को इलाका संरक्षण कार्यालय ल्वाङ (कास्की)अन्तर्गत ल्वाङ गाउँका १२ घर, घलेलका सात घर, टुसेका २७ घर, मिर्साका १६ घर, काभ्रेका १२ घर र कोलेली गाउँका छ घरमा घरबास सेवा सञ्चालित छन् ।
इलाका संरक्षण कार्यालय, सिक्लेसअन्तर्गत सिक्लेस गाउँका २४, ताङतिङमा १४, याङ्जाकोटमा १० र वार्चोकका ११ घरले उक्त सेवा दिइरहेका छन् । इलाका संरक्षण कार्यालय, घान्द्रुकअन्तर्गत साबेतमा १०, नारच्याङमा १५, खिवाङमा छ, इलाका संरक्षण कार्यालय, भुजुङअन्तर्गत घलेगाउँका ४३, घनपोखराका नौ, भुजुङका २८, सिउरुङका १९, पसगाउँका २२ र छापामिप्रामा १२ घरबास छन् ।
यस्तै इलाका संरक्षण कार्यालय, मनाङअन्तर्गत ओडारमा १५, थानचोकमा १४, ताचैमा २६, इलाका संरक्षण कार्यालय, जोमसोमभित्र ठिनीमा ११ र लुब्रा गाउँका आठ घरबासले पर्यटकलाई सेवा दिँदै आएका छन् । इलाको संरक्षण कार्यालय, लोमान्थाङअन्तर्गत पर्ने मराङका पाँच, छोसेरका पाँच र जुङजुङका छ घरमा उक्त सेवा सञ्चालनमा छ ।
अन्नपूर्ण संरक्षण क्षेत्रभित्र सञ्चालनमा रहेका घरबासलाई व्यवस्थापन तालिमलगायत विभिन्न सहयोगहरु प्रदान गर्दै आएको आयोजना प्रमुख डा कडरियाले बताउनुभयो । “ग्रामीण पर्यटन विकासमा घरबासको ठूलो योगदान छ, गाउँलाई आर्थिक गतिविधिसँग यसले जोडेको छ”, उहाँले भन्नुभयो, “घरबास सञ्चालनमा आएपछि स्थानीय उत्पादनको प्रवर्द्धनदेखि रोजगारी सिर्जनामा पनि मद्दत पुगेको छ ।” पर्यटकीय राजधानी पोखरादेखि छोटो र लामो दुरीमा गन्तव्यमा अवस्थित घरबास गाउँ विशेष गरी आन्तरिक पर्यटकको बढी रोजाइमा पर्ने गरेका छन् । पछिल्लो समयमा नेपालमा बढीरहेको घुम्ने संस्कृतिले पनि घरबास पर्यटनलाई टेवा पुर्याइरहेको छ ।
कास्कीको माछापूछ्रे गाउँपालिका–८ स्थित ल्वाङ सामुदायिक घरबास व्यवस्थापन समितिका अध्यक्ष मञ्जु गुरुङले एकै रातमा चार सयसम्म पाहुना राख्ने क्षमता ल्वाङ गाउँका घरबासमा रहेको जानकारी दिनुभयो । “यहाँ मुख्य गरी आउने भनेको आन्तरिक पर्यटक नै हो, कोभिड–१९ महामारीपछि विदेशी पाहुनको सङ्ख्या केही घटेको छ”, उहाँले भन्नुभयो, “पोखरादेखि नजिकको दूरीमा भएकाले पनि आउजाउ सहज छ, घुमफिरका लागि जुनसुकै मौसममा ल्वाङ गाउँ उपयुक्त छ ।”
गुजुमुज्ज परेको गुरुङ बस्तीले ल्वाङको आकर्षण थपेको छ । ल्वाङमा सेतो र गेरु रङ पोतिएका एकनासे घर छन् । घरको छाना, आँगन र बाटोमा पनि ढुङ्गा बिछ्याइएको छ । परम्परागत घरले पहाडी वास्तुकलाको झल्को दिन्छन् । प्रकृति र संस्कृतिको अनुपमस्थल ल्वाङ गाउँ ग्रामीण पर्यटन आकर्षक गन्तव्यका रुपमा परिचित छ । विसं २०६७ मा घरबास सञ्चालनमा आएपछि ल्वाङ ग्रामीण पर्यटनमा फड्को मारेको घरबास व्यवस्थापन समितिका अध्यक्ष गुरुङले बताउनुभयो ।
समुन्द्री सतहदेखि १४ सय मिटरको उचाइमा अवस्थित यो गाउँबाट माछापूछ्रे, अन्नपूर्णलगायत हिमाली चुचुरोमा देखिने सूर्योदयको दृश्य लोभलाग्दो हुन्छ । गुरुङ संस्कृतिको अध्ययन, अनुसन्धानका लागि देशीविदेशी अध्यताहरुसमेत ल्वाङ गाउँ पुग्ने गरेका छन् । स्थानीयले पाहुनालाई गुरुङ संस्कृति र संस्कार देखाउने गरेका छन् । रैथाने खाना चखाउने, करेसाबारीमा लगेर खेती गर्ने तरिका सिकाउने, भान्छाको परिकार बनाउने विधि पनि सिकाउने गरिन्छ ।